रोयल इन्फिल्डले ‘रोयल इन्फिल्ड हन्टर ३५०’ को नयाँ भेरियन्ट र रंग सार्वजनिक गरेको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालि हो भने पोखरा क्षेत्रको आधिकारिक विक्रेता क्लासिक ड्राइभ प्रालि हो । पोखराको मुख्य बजार नयाँबजारस्थित सोरुममा बुधबार एक कार्यक्रमबिच नेपाली बजारमा बहुचर्चित हन्टर ३५० को नयाँ भेरियन्टसँगै दुई नयाँ रङ सार्वजनिक गरिएको हो ।
क्लासिक ड्राइभका निर्देशकद्वय अनिता रानाभाट र सरस्वती गोतामे सुवेदीले संयुक्त रूपमा रोयल इन्फिल्डले हालै बजारमा ल्याएको नयाँ ‘टारम्याक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई एल्लो’ र ‘मुनसुट ह्वाइट’ गरी दुई नयाँ रङ सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको हन्टर ३५० को नयाँ टारम्याक ब्ल्याकको मूल्य चार लाख ८७ हजार, मुम्बई एल्लो र मुनसुट ह्वाइटको टप भेरियन्टको मूल्य पाँच लाख ११ हजार रुपैयाँ रहेको रानाभाटले जानकारी दिइन् । नयाँ भेरियन्ट तथा नयाँ रङका मोटरसाइकलको बुकिङ र बिक्री बुधबारदेखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु भइसकेको समेत उनले जानकारी दिइन् ।
नयाँ टारम्याक ब्ल्याक भेरियन्टलाई दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको, यसमा हन्टरको मौलिक रोडस्टर डिजाइन कायम राख्दै एलोय ह्विल्स, राउन्ड ह्यालोजन हेडल्याम्प, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल समावेश गरिएको निर्देशक रानाभाटले जानकारी दिइन् ।