निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार डा. तिवारीलाई १ असोजदेखि लागु हने गरी नियुक्त पत्र प्रदान गरेका हुन् । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले डा. तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासंघमा जोडिएको बताए ।
‘नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाहरूको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पुर्याउनेछ’ उनले भने, ‘हाम्रो नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन, उच्च प्रभावकारी सुधारका कार्यसूचीहरू कार्यान्वयन गर्न र नेपाली उद्यमहरूका लागि गतिशील तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी वातावरण निर्माण गर्न उहाँको नेतृत्व महत्वपूर्ण साबित हुनेछ ।’
यो नियुक्तिसँगै महासंघमा डा. तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा सचिवालयको नेतृत्व सम्हालेका थिए ।
उनले यसअघि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ र नेपाल–जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।
डा. तिवारीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) /विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकको रूपमा कार्यकारी तथा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।
संस्थागत जिम्मेवारीका अतिरिक्त डा. तिवारी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नेपाल आर्थिक पत्रकार समाज (सेजोन) का पूर्व अध्यक्ष, नर्वेस्थित फिल. डा. जान–यू. सान्डल इन्स्टिच्युटका सिनियर रिसर्च फेलो तथा त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) अन्तर्गत सार्वजनिक नीति, सुशासन र भ्रष्टाचार विरोधी अध्ययन विभागका प्राध्यापक समेत हुन् ।