सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका छन्। संघीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’को परीक्षण सञ्चालनको औपचारिक उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन्।
‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो। विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ। अब हामीले थप ढिला गर्नुहुँदैन,’ उनले भने। सभामुख अर्यालले डिजिटल पार्लियामेन्टमार्फत संसद्सँग सम्बन्धित सूचना, दस्ताबेज, गतिविधि तथा ऐतिहासिक अभिलेखलाई एकीकृत डिजिटल प्रणालीमा व्यवस्थापन गरिने बताए।
नेपालको संसदीय इतिहाससँग सम्बन्धित पुराना दस्ताबेज तथा अभिलेख खोजी गरी सम्भव भएसम्म डिजिटलाइज गर्ने लक्ष्य रहेको उनले बताए। आगामी दिनका संसदीय गतिविधिलाई पनि व्यवस्थित रूपमा अभिलेखीकरण गरिने उनको भनाइ थियो।
‘यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ,’ उनले भने।
विगतमा संसद्लाई प्रविधिमैत्री बनाउने प्रयास भए पनि अपेक्षित रूपमा सफल हुन नसकेको सभामुख अर्यालले बताए। सम्बन्धित निकाय, कर्मचारी र सांसदहरूले अपनत्व लिन नसक्दा त्यस्ता प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।