नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरेको हो। इच्छुक आवेदकहरूले आगामी असोज २६ गते (१२ अक्टोबर २०२६)सम्म आवेदन दिन सक्नेछन्।
१८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ। आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ।
समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने माध्यमका रूपमा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले यी कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ।
दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा सक्षम उद्यमीहरूलाई आवेदन दिन प्रोत्साहन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताए।
बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना सहभागीलाई तालिम प्रदान गरिसकिएको छ। तालिम लिएकाहरूले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भइसकेका छन्।
फेलोसिप कार्यक्रममार्फत हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। जसबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ। त्यस्तै, सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्। यसका साथै २२५ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ।