जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, चुनौती तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे छलफल गर्ने उद्देश्यले हिमालपारिको जिल्ला मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटन नेपाल सरकारकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन्।
सम्मेलनमा मध्यपहाडी तथा उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव, जोखिम र स्थानीय प्रतिक्रियाका विषयमा प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ। यस्तै, गैरसरकारी संस्थाको भूमिका, जलवायु परिवर्तनसम्बन्धी घोषणा तथा स्थानीय तहको सहभागितालगायत विषयमा छलफल गरी विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।
सम्मेलनको प्राविधिक सत्रमा जलवायु परिवर्तनसम्बन्धी नीति तथा अभ्यास, गण्डकी प्रदेशमा जलवायु परिवर्तनको वर्तमान अवस्था, प्रदेशको वातावरणीय अवस्था तथा राष्ट्रिय नीतिमा जलवायु परिवर्तन र भूमि सम्बन्धलगायत विषयमा प्रस्तुतीकरण हुनेछ।
त्यस्तै, जलविद्युत् तथा पर्यटन क्षेत्रको विकास, दिगोपन र जलवायु उत्थानशीलता, अन्नपूर्ण संरक्षण क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु वित्त तथा स्थानीय सरकारका अवसर र चुनौतीका विषयमा पनि छलफल गरिनेछ।
सम्मेलनमा २६० गाउँपालिका, १५० नगरपालिका, पाँच उपमहानगरपालिका, एक महानगरपालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिसहित करिब एक हजार चार सय प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ। सम्मेलनमा विज्ञ, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको समेत सहभागिता रहेको छ।
जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय तहको भूमिका र जिम्मेवारीबारे छलफल गर्दै सम्मेलनले ‘घरपझोङ घोषणा’ जारी गर्नेछ। सम्मेलन बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ।