रुपन्देहीमा प्रहरीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउन्ड छर्रासहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका– ६, नारायणपुरस्थित २३ वर्षीय अमनकुमार धवलको घरमा कटुवा पेस्तोल लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो।
इलाका प्रहरी कार्यालय धकधई र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले धवलको घरमा रीतपूर्वक खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २५ राउन्ड छर्रा बरामद गरेको प्रहरीले जनाएको छ।
हतियार बरामद भएपछि प्रहरीले घरधनी अमनकुमार धवल र सोही ठाउँका २० वर्षीय सुनील केवटलाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।