सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो १ देखि ४ असोजसम्म आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना एवं नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी डेभलपर्सले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन् । एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी–छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन् । घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था रहेको बताइएको छ । साथै, घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घरजग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र पाँच हजार एकमै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ । काठमाडौंनजिकै तीन बेडरुमसहितको दुईतले घर करिब एक करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
त्यसैगरी, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसँगै पाँच हजार एक रुपैयाँमा टोकन बैना गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन बैना फिर्ता हुने व्यवस्था छ । घरजग्गा कारोबार सुस्ताइरहेका वेला काठमाडौंमा आयोजना हुन लागेको एक्स्पोमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिएको आयोजकको दाबी छ ।