पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको नयाँ सिजन २०२६/२७ मा पहिलो जित निकालेको छ । साविक विजेता पिएसजीले ब्रेस्टलाई १–० ले पराजित गर्दै पहिलो तीन अंक हासिल गरेको हो । पिएसजीको जितमा फेरान टोरेसले गरेको गोल निर्णायक बन्यो ।
उनले खेलको पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जोरिस चोटार्डको कमजोर पास खोसेपछि फेरानले ओस्मान डेम्बेलेसँग पास लिँदै उत्कृष्ट फिनिसिङ गरेका थिए । बार्सिलोनाबाट यसै सिजन पिएसजी आएपछि उनी लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।
त्यसपछि दुवै टोलीले गोलका अवसर बनाए पनि सफल भएनन् । ब्रेस्टका लुडोभिक अजोरक र पाथेम्बुपका प्रयास पिएसजीका गोलकिपर मत्भे साफोनोभले रोकेका थिए । पिएसजीका ख्भिचा क्वारात्स्खेलिया र डेम्बेलेका प्रयास पनि ब्रेस्टका गोलकिपर एगिल सेल्भिकले बचाएका थिए । दोस्रो हाफमा ब्रेस्टले बराबरीका लागि निरन्तर दबाब बनाए पनि साफोनोभले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगाउँदै जित निकालेका थिए ।
पहिलो जितपछि चार खेलमा पाँच अंक जोडेको पिएसजी सातौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि ब्रेस्ट आठौँ स्थानमा छ । फ्रेन्च लिगमा चार खेलमा १० अंक बटुलेको लील शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि पर्दा मोनाको दोस्रो र रेनेस तेस्रो स्थानमा छन् ।
सुरुवाती तीन खेलमा दुई अंक
गत सिजन फ्रेन्च लिगसँगै युरोपियन च्याम्पियन्स लिग जितेको पिएसजीले यो सिजन सहज सुरुवात गर्न सकेन । लुइस इन्रिकेको टिमले लगातार गत वर्ष च्याम्पियन्स लिग जितेको थियो । तर, नयाँ सिजन भने टोलीले बिर्सनलायक प्रदर्शन गर्यो । पिएसजीले गत साता पनि मोनाकोसँग २–१ ले पराजित भएको थियो । तर, त्यसपछि च्याम्पियन्स लिगमा स्लोभान ब्राटिस्लाभालाई ६–० ले हराएको हो । फेरानले स्लोभानविरुद्ध पनि ह्याट्रिक गरेका थिए । पिएसजीका लागि पहिलो पाँच खेलमै उनको गोलसंख्या ६ पुगेको छ । क्लबका लागि पहिलो पाँच खेलमा ६ गोल गर्ने उनी ज्लाटन इब्राहिमोभिचसँगै बराबरी गरेका छन् ।
जर्मन बुन्डेस लिगामा केनको एक सय ५० गोल
ह्यारी केन चम्किएपछि जर्मन बुन्डेस लिगामा साबिक विजेता बायर्न म्युनिखले नवप्रवेशी एल्भर्सबर्गलाई २–१ ले पराजित गरेको छ । योसँगै केनले बायर्न म्युनिखका लागि १५०औँ गोल पूरा गरेका छन् । लेनार्ट कार्लले २६औँ मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । तर, ६१औँ मिनेटमा मौरिस क्राटेनमाकरले बराबरी गोल गरेका थिए । त्यसपछि ७२औँ मिनेटमा केनले बायर्नका लागि विजयी गोल गरेका हुन् ।
केनको ९७औँ बुन्डेसलिगा खेलमा यो ९९औँ गोल हो । २०२६/२७ को नयाँ सिजन लिगमा उनको यो पहिलो गोल हो । टोटनह्यामबाट सन् २०२३ को अगस्टमा बायर्न पुगेका केनले क्लबका लागि सबै प्रतियोगितामा एक सय ५३ खेलमा एक सय ५० गोल पूरा गरेका छन् । ३३ वर्षीय केन सन् २०२६ को बालोन डी’ओरको प्रमुख दाबेदारसमेत हुन् ।