- गत ११ असारमा उत्तर अमेरिकामा विश्वकप चलिरहँदा फिफाले नेपालमाथि अनिश्चितकालीन निलम्बन गरेको थियो, सरकारको हस्तक्षेपका कारण निलम्बनमा परेको भन्दै एन्फा कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिँदै
अखिल नेपाल फुटबल संघ (एन्फा) कर्मचारीले फिफा निलम्बन फुकुवाको माग राख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ज्ञापनपत्रसहित धर्ना दिने भएको छन् । गत ११ असारमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट एन्फा अनिश्चितकालीन निलम्बनमा परेको छ । फिफाले तेस्रो पक्ष अर्थात् सरकारले हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेको थियो ।
तर, दुई महिना बितिसक्दा पनि निलम्बन फुकुवा हुने अवस्था देखिँदैन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले असोज दोस्रो सातासम्म निलम्बन फुकुवा हुने आश्वासन दिएका छन् । उनले नेपालको निलम्बन फुकुवा हुने र नेपाली पुरुष टिमले साफ च्याम्पियनसिप खेल्ने प्रतिबद्धता गरेका थिए । तर, स्रोतको अनुसार फिफा निलम्बन फुकुवा हुने कुनै छाँटकाँट देखिएको छैन ।
निलम्बन फुकुवा हुने छाँटकाँट नदेखेपछि महासचिव किरण राईको नेतृत्वमा एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकको समूहले मंगलबार राखेपको मुख्यालय त्रिपुरेश्वरमा धर्ना दिने कार्यक्रम राखेको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।
लामो समयदेखि एन्फा कर्मचारी, प्रशिक्षक, रेफ्रीदेखि खेलाडीको पारिश्रमिकसमेत रोकिएपछि उनीहरू आन्दोलनमै जाने घोषणा गरेका हुन् । ‘निलम्बन फुकुवासँग सम्बन्धित विषय नै हुन् । साफ च्याम्पियनसिप खेल्ने भनिएको छ । तर, केही जानकारी आएको छैन । तयारी सुरु गर्न पाएको छैन । त्यसैले ज्ञापनपत्र बुझाउँदै छौँ,’ शाहले बताए ।
उनका अनुसार ज्ञापनपत्र बुझाएसँगै खेलकुदको नियामक निकाय राखेपपरिसरमा एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ ।
एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारी भन्छन्, ‘महासचिव किरण राईले कसको निर्णयमा यो सब गर्दैछन् ? यो सबैको जिम्मेवारी उनी आफैँले लिनुपर्ने छ ।’
निलम्बनका कारण सुनसान नेपाली फुटबल
फिफाले ११ असारमा एन्फालाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल सुनसान रहेको छ । कुनै पनि गतिविधि हुन पाएको छैन । रोकिएको पुरुषको राष्ट्रिय लिग हुन सकेको छैन । यस्तै, महिला लिग, युथ लिग हुन सकेका छैनन् । त्यस्तै, घरेलु प्रतियोगिताका तालिका प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय सहभागिता ठप्प भएको छ ।
यद्यपि, अजरबैजानमा हुने यू–१५ विश्वकप फेस्टिभल अफ फुटबलमा भने नेपालले सहभागिता जनाउँदै छ । यस्तै, एन्फा महासचिव किरण राई पछिल्लो समय फिफा निलम्बन भएपनि दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बैठकमा सहभागी भएका छन् ।
यसअघि राखेपले पनि ११ चैतमा एन्फामाथि तीन महिनाका लागि निलम्बन गरेको थियो । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राईले पटक–पटक आफ्नो अनुरोधलाई अटेरी गरेको भन्दै एन्फामाथि राखेप कठोर बनेको थियो । जिल्लादेखि नै तहगत निर्वाचन गर्ने एन्फाको सर्तपछि राखेपले निलम्बन फुकुवा गरेको थियो ।
तर, लामो समयको द्वन्द्वपछि फिफाले तेस्रो पक्ष हाबी भएको भन्दै एन्फालाई निलम्बन गरेको थियो । अहिले सरकार जसरी हुन्छ तहगत निर्वाचन नै गर्नुपर्ने पक्षमा छ । यता, एन्फापक्ष भने झापा धुलाबारीको जुन अवस्थामा चुनावी साधारणसभा स्थगित भएको थियो, सोही अवस्थामा निर्वाचन हुनुपर्ने दाबी गर्दा झनै मुद्दा पेचिलो बन्दै गएको छ ।
एन्फा प्रवक्ता सुरेश शाह भन्छन्–
एन्फा विगत ६ महिनादेखि राखेपको निलम्बन र तेस्रो पक्ष (सरकारी) हस्तक्षेपका कारण फिफाको प्रतिबन्धमा रहेको सर्वविदितै छ । निलम्बनको लामो अवधि बितिसक्दा पनि नेपाली फुटबलको अन्योल अन्त्य नभएकाले एन्फा सचिवालयका तर्फबाट राखेपका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, १ घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिनदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौँ ।
बाढीपीडितलाई सी डिभिजन क्लबको सहयोग
सहिद स्मारक ‘सी’ डिभिजन क्लबहरूले भोटेकोशीमा गएको विनाशकारी बाढीपछि प्रभावित परिवारलाई सहयोग गरेका छन् । १० भदौमा गएको बाढीपछि राहत तथा सहयोगका लागि सहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिग खेल्ने क्लबहरूले ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री राहत कोषमा संयुक्त रूपमा एक लाख १३ हजार एक सय रुपैयाँ सहयोग गरेको सी डिभिजन संयोजक तथा महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरका अध्यक्ष दीवाकर घलेले जानकारी गराए । ‘बाढीप्रभावितलाई हामीले धेरै गर्न नसके पनि सकेको सहयोग गरेका छौँ । प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको आवश्यकता धेरै रहेको छ । सबैले यसरी नै हातमाले गर्न निकै आवश्यक छ,’ संयोजक घलेले भने, ‘बाढीपीडितको साथमा फुटबल परिवार पनि छ । साथै, हामीले सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ ।’
कोषमा सामाजिक युथ क्लबले १७ हजार ६ सय, स्वयम्भू क्लबले १५ हजार, महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले १० हजार पाँच सय तथा खालीबारी युवा फुटबल क्लब, पुल्चोक स्पोर्टस् क्लब, मनोहरा युनाइटेड युथ क्लब, स्पोर्टस् एकेडेमी साँगा, झम्सिखेल युथ क्लब र सिन्धुपाल्चोक फुटबल क्लबले समान १० हजार सहयोग गरेका हुन् ।