जनस्तरबाट संकलित राहत वितरण गरेर रास्वपा सांसदको प्रचार

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण
जनस्तरबाट संकलित राहत वितरण गरेर रास्वपा सांसदको प्रचार

राहत संकलनमा खटिएका स्थानीयबासी

बर्दियाको ठाकुरबाबा नगरपालिकाका स्थानीयले भोटेकोशी बाढी प्रभावितका लागि संकलन गरेको राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको पहलमा आएको भन्दै नेता तथा कार्यकर्ता राहत वितरण गर्न पार्टीको चुनाव चिह्न ‘घन्टी’अंकित टोपी र टिसर्ट लगाएर पुगेका छन्।

स्थानीयले ‘मुठ्ठी दान’ अभियानमार्फत दाल, चामल, नुन, चाउचाउलगायत सामग्री संकलन गरेका थिए। तर, सो राहत सामग्री रास्वपाबाट निर्वाचित बर्दिया क्षेत्र नम्बर २ का सांसद श्रीधर पोख्रेलको पहलमा आएको भन्दै वितरण गरिएको हो। 

अभियानकी अभियन्ता ठाकुरबाबा– १, भुरीगाउँकी गंगा थापाका अनुसार भोटेकोशी बाढीको भोलिपल्टदेखि नै पालिकाभित्रका स्थानीयले बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले ‘मुठ्ठी दान’ अभियान सञ्चालन गरी खाद्यान्न तथा अन्य सामग्री संकलन गरेका थिए। ‘भोटेकोशीमा आएको बाढीपछि प्रभावित र पीडित भएका व्यक्तिहरूलाई राहत पुर्याउने उद्देश्यले  पालिकाभित्र बसोबास गर्ने व्यक्तिहरूले राहत उठाउनुभएको हो,’ थापाले भनिन्, ‘राहत सामग्री प्रभावित क्षेत्रमा लैजान सम्भव नभएपछि सम्बन्धित निकायलाई बुझाएका थियौँ।’

बाढी प्रभावित क्षेत्रमा पठाउने उद्देश्यले स्थानीयले राहत सामग्री संकलन गरे पनि सरकारले खाद्यान्न तथा जिन्सी सामग्री नपठाउन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। पछि सोही राहत सामग्री सांसद पोख्रेलको पहलमा आएको भन्दै रास्वपाका नेता तथा कार्यकर्ता राहत वितरणमा पुगेका हुन्। राहत वितरण गर्दा पार्टीको चुनाव चिह्न ‘घन्टी’ अंकित टोपी र टिसर्ट प्रयोग गरिएपछि स्थानीयहरू असन्तुष्ट छन्।

अभियन्ता थापाले विपतकाे समयमा स्थानीयले दुःख गरेर संकलन गरेको राहतलाई राजनीतिक प्रचारको माध्यम बनाउन नहुने बताइन्। ‘स्थानीयले बाढीपीडितका लागि संकलन गरेको राहतलाई सांसदको पहल भन्दै पार्टीको प्रचार गरिनु दुःखद मात्र होइन, लज्जाको विषयसमेत हो,’ उनले भनिन्। 

भोटेकोशीमा भदौ १० गते आएको बाढीमा बर्दियाका ७६ जना व्यक्ति सम्पर्कविहीन भएका थिए। बाढी आएको करिब दुई सातापछि स्थानीयले संकलन गरेको राहत सामग्री लिएर रास्वपाका नेताहरू सांसद पोखरेलको पहल आएको राहत भन्दै प्रचारमा लागे।

रास्वपा बर्दियाका निवर्तमान जिल्ला समिति सदस्य प्रेमनारायण भण्डारी सांसद पोख्रेलकै पहलमा उक्त राहत सामग्री आएको दाबी गर्छन्। उनले भने, ‘बारबर्दियामा रहेका बाढीपीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएपछि कार्यक्रममा पुगेको हुँ। राहत वितरण कार्यक्रम राजनीतिक उद्देश्यले भन्दा पनि सहयोग गर्ने भावनाले गरिएको हो।’

सांसद पोख्रेल भने ठाकुरबाबा नगरपालिकाका स्थानीयले संकलन गरेको राहत सामग्री वितरणका लागि सहजीकरण मात्र गरिएको बताए। ‘राहत संकलन अभियानमा जोडिनुभएकी चाँदनी रावत र पूर्णिमा पौडेलसँग सरसल्लाह गरेर राहत सामग्री गेरुवा र बारबर्दिया पठाइएको हो,’ उनले भने, ‘राहत सामग्री दिँदा पीडितको घरमा लगेर दिनुहोला तथा ठाकुरबाबाका स्थानीयले संकलन गरेको भन्ने खुलाउनु भनेको थिएँ।’

राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवा गाउँपालिकाका सभापति हुकुमबहादुर चलाउनेले राहत वितरणमा पार्टीको चुनाव चिह्नअंकित टोपी र टिसर्ट लगाएर आएको व्यक्ति पार्टीको सदस्य नभएको बताए। उनले भने, ‘राहत वितरण गर्दा पार्टीको चुनाब चिहनअंकित टोपी र टिसर्ट लगाएर आउने व्यक्ति पार्टीको होइन।’

राहत वितरणमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले समन्वय गरेको उल्लेख गर्दै उनले राहत संकलन गरेका ठाकुरबाबाका स्थानीयलाई धन्यवाद दिए।

सुझावित समाचार