सिराहा प्रहरीले गोलबजार नगरपालिकाको बेतौनाबाट ठुलो परिमाणमा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो पदार्थसहित चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा गोलबजार– १२, बेतौनाबाट ९७ ग्राम ५३ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चारजनालाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा स्थानीय करिब २५ वर्षीय मुनेश्वर मण्डल, २६ वर्षीय वीरेन्द्रकुमार साह, २० वर्षीय अरबिन्दकुमार सिंह र गोलबजार– ६ का ३३ वर्षीय रितेश यादव रहेका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए।
बेतौनाका मुनेश्वरले आफ्नै घरमा लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा गोलबजारस्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार टोलीले मुनेश्वरको घरमा खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीबाट प्लास्टिकको पोकामा लुकाएको ब्राउनसुगरजस्तो पदार्थ बरामद भएको थियो। उनीहरूको साथबाट नगद दुई हजार ५९५ रुपैयाँ, पाँच थान मोबाइल, एक थान डिजिटल तराजु बरामद भएको जानकारी दिँदै प्रहरीले पक्राउ गरिएकाहरूलाई गोलबजार ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
९८७ ग्रामभन्दा बढी ब्राउनसुगर बरामद
सिराहा प्रहरीका अनुसार पछिल्लो आर्थिक वर्ष ०८२/८३ को साउनदेखि गत असारसम्म १२ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट ९८७ ग्राम ३९ मिलिग्राम ब्राउनसुगर, नाइट्राभेट, ३० क्विन्टल ७३ किलो ४२९ ग्राम गाँजा, डाइजिपाम, बुप्रेनर्फिन, नाइट्राजिपाम, कोडिवेललगायतका लागुऔषधसहित १९५ जनालाई पक्राउ गरी १२६ वटा मुद्दा चलाइएको छ।
प्रहरी तथ्यांकअनुसार गत साउन महिनामा जिल्ला प्रहरीसहित मातहतका विभिन्न प्रहरी युनिटहरूबाट खटिएको गस्ती टोलीले १६ जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको र लागुऔषध ओसारपसारसम्बन्धी आठवटा मुद्दा चलाइएको छ। उक्त अवधिमा २५० ग्राम ४२ मिलिग्राम ब्राउनसुगर, सात क्विन्टल ९४ किलो ७१५ ग्राम गाँजा र १३ बोतल औषधिजन्य लागुऔषध अनरेक्स– १०० एमएल बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।