संखुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहा भ्याङखोलाका अग्निपीडित बसन गुरुङलाई संखुवासभा समाज युएईले नगद सहयोग गरेको छ। आइतबार संखुवासभा समाज युएईका प्रतिनिधि सनम गुरुङलगायतको टोलीले घरैमा पुगेर नगद ८९ हजार १७५ रुपैयाँ हस्तान्तरण गरेको हो।
लामो समय वैदेशिक रोजगारीका लागि युएईमा नै बसेर फर्किएका गुरुङलाई घर आगलागी भएपछि समाजको तर्फबाट सहयोग गरेको सनम गुरुङले बताए। उनले संखुवासभा समाज युएईले यसअघि पनि विभिन्न दुःख र विपत्तिको समयमा सहयोग गर्दै आएको र अहिले बसनलाई सहयोग गरेको बताए।
यो संखुवासभा जन्मथलो भई कर्मथलोको रूपमा युएईमा बस्दै आएका प्रवासीहरूको संस्था हो। गत साउन २२ गते शुक्रबार राति बसनको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।