संविधान दिवस भव्य रूपले मनाउन कोशी सरकारको तयारी तीव्र

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

धुमधामसहित संविधान दिवस मनाउन कोशी प्रदेश सरकारले तयारी तीव्र बनाएको छ। २, ३ र ४ असोजमा संविधान दिवस भव्य रूपमा मनाउन कोशी प्रदेश सरकारले विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारी तीव्र बनाएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संविधान दिवस, २०८३ मूल समारोह समिति गठन भएको छ। कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार संविधान दिवसका दिन ३ असोजमा विराटनगरको सहिद रंगशालामा आयोजना हुने मूल समारोहमा १० हजारको सहभागिता रहने गरी सामारोहको तयारी गरिएको छ।

संविधान दिवसको दिन ३ असोजमा बिहान साढे ६ बजे आदर्श मावि विराटनगरअगाडि भेला भएर विभिन्न जातजाति, समुदाय तथा वेशभूषाको झाँकीसहित प्रभातफेरी गरिनेछ। त्यसपछि सहिद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना हुनेछ।

मूल समारोहमा खेलकौशल, प्रसिद्ध कलाकारहरूद्वारा राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरणलगायत विभिन्न जातजातिका झाँकीसहित कार्यक्रम गरिनेछ। २ असोजमा प्रदेश खेलकुद बोर्डको आयोजनामा म्याराथन दौड र ब्याडमिन्टन प्रतियोगिता हुनेछ। सामाजिक विकास मन्त्रालयले जिल्लाबाट छनाेट भएका प्रतियोगीहरूको नेपालको संविधान र संघीयता कार्यावन्यन विषयमा वक्तृत्वकला प्रतियोगिता गर्नेछ।

यस्तै, जलवायु परिवर्तन र विपत व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिनेछ। संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना हुनेछ। ४ असोजमा स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम गरिनेछ।
 

सुझावित समाचार