फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग (एनभिएल) पहिलो संस्करणको च्याम्पियन बनेको छ । शनिबार त्रिपुरेश्वरस्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण २५–१५, २५–२० र २५–१८ ले विजयी भएको हो । यद्यपि, खेलमा विवाद हुँदा २५ मिनेटभन्दा बढी खेल रोकिएको थियो । रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै कर्णालीका कप्तान पहल गहतराजसँगै खेलाडीले कोर्ट नै छाडेका थिए ।
उपाधिसँगै अन्नपूर्णले घरेलु प्रतियोगिताको इतिहासमै सर्वाधिक २० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । योसँगै अन्नपूर्णले समूह चरणमा व्यहोरेको हारको बदलासमेत लियो । समूह चरणमा कर्णालीले ३–१ को जित निकालेको थियो । पहिलो खेलमा पराजित भए पनि टिमले त्यसपछि कमब्याक गर्दै लगातार पाँच खेल जितेको छ । अन्नपूर्णलाई च्याम्पियन बनाएका मंगोलियन स्पाइकर उरानबायर मंखबायर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए ।
विवादास्पद फाइनल खेल
विदेशी खेलाडीको सानदार प्रदर्शनसँगै पहिलो सेटमा अन्नपूर्णले अग्रता बनायो । मंगोलियाली खेलाडी ओपन स्पाइकर उरानबायर मंखबायर र इंख एर्डेन जारगालसोट तथा सेटर तुर्मान्डाख गान्खुयागसँगै कप्तान हिमाल सुनारी, सुरेन्द्र केसी, जितबहादुर सार्की, देवबहादुर राना चम्किएपछि कर्णाली लगातार खेलमा पछि पर्यो । पहिलो सेटमै कर्णालीले स्वाभाविक लय समात्न सकेन । दोस्रो सेटमा पनि कर्णालीका बेलारुसका स्पाइकर कुद्रासौउ अस्ट्रिसम, इरानका स्पाइकर अलिरेजा अबोलुज तथा पोल्यान्डका सेटर स्मेटिक इमिलियनसँगै मार्की पहलसँगै लिबेरो विनोद चन्द र नृपध्वज बस्नेत चल्नै सकेनन् ।
दोस्रो सेटको सुरुबाटै कर्णालीका पदाधिकारीले रेफ्रीको निर्णयमा आपत्ति जनाइरहेका थिए । दोस्रो सेटमा अन्नपूर्णले ५–२ को अग्रता बनाउँदा भने ठुलै लफडा सुरु भयो । खेल २५ मिनेट बढी रोकियो । मुख्य रेफ्री विजय केसीले अलिरेजाको प्रहार नेटमा लागेर आउट गएको भन्दै अंक अन्नपूर्णलाई दिए । त्यसपछि इरानी खेलाडी अलिरेजासँगै कप्तान पहलले रेफ्री केसीमाथि असन्तुष्टि जनाए । आक्रोशित पहलले नेट तानेपछि रेफ्रीले पहललाई पहेँलो कार्ड देखाए । यसपछि पहलसँगै कर्णालीका खेलाडीले कोर्ट छाडे । पदाधिकारीले समेत आक्रोश पोख्दै लफडा सुरु गरेका थिए ।
अन्त्यमा भावुक बनेका पहलसँगै खेलाडी नृपध्वज बस्नेत तथा प्रशिक्षक चन्द्रबहादुर कुँवरलाई सम्झाउन विभागीय टोली नेपाल पुलिस क्लबका पदाधिकारी श्रवण झा नै कोर्टमा प्रवेश गरेका थिए । झा प्रतियोगिताको इन्टिग्रिटी अफिसरसमेत हुन् । भलिबल संघका उपाध्यक्ष तथा पुलिस क्लबका पूर्वखेलाडी तथा पदाधिकारी भरत शाहसमेत कोर्टमा प्रवेश गर्दै खेलाडीलाई खेलमा फर्कन निर्देशन दिएका थिए । लामो लफडापछि कोर्टमा प्रवेश गरेको कर्णालीले त्यसपछि पनि कमब्याक गर्न सकेन । लगातार तीन सेट गुमाउँदा पहिलो संस्करण च्याम्पियन बन्ने अवसरसमेत गुमाएको छ ।