आपूर्ति असहज भइरहेका वेला तोकिएभन्दा बढी मूल्य लिने विक्रेतालाई कानुनबमोजिम कडा कारबाही गर्न ग्यास विक्रेता महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका लागि सरकारले तोकेको प्रतिसिलिन्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा मूल्य लिई ग्यास बिक्री गर्न पनि विक्रेताहरूलाई आग्रह गरेको छ। तर, तोकिएभन्दा बढी मूल्य लिई बिक्री गरेको खण्डमा भने कडा कारबाही गर्नुपर्ने महासंघको माग छ।
‘विषम परिस्थितिमा उपभोक्तालाई अनुचित मूल्य लिई खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएकाले आमविक्रेतालाई प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न ग्यास विक्रेता महासंघ नेपाल अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको बिक्री दररेटभन्दा बढीमा बिक्री–वितरण गरी अनुचित लाभ लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ।’
कृष्णभिरको बाटो कटान भई पृथ्वी राजमार्ग अवरुद्ध हुँदा नियमित परिमाणमा ग्यास आउन नसकेकाले वास्तविक रूपमा खाँचो भएका उपभोक्ताको पहिचान गरी ग्यास वितरण गर्न पनि महासंघले विक्रेताहरूलाई अनुरोध गरेको छ।