काठमाडौंका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध सम्पत्ति शुद्धीकरणकाे मुद्दा दायर

भ्रष्टाचारबाट आर्जित साढे चार करोडभन्दा बढी शुद्धीकरण गरेको आरोप

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चारजनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। साढे चार करोडभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले कोइरीविरुद्ध शुक्रबार सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगेको हो।

चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरीविरुद्ध ०८२ जेठ २६ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।०४६ वैशाख १९ देखि सार्वजनिक पद धारण गरेका कोइरीले ०७८ फागुन ३० गतेसम्मको सेवाअवधिमा चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ अवैध रूपमा कमाएको अख्तियारको दाबी छ।

उनले भ्रष्टाचारबाट आर्जित साे रकम श्रीमती, साली र साढुभाइमार्फत रूपान्तरण, स्वरूप परिवर्तन, स्वामित्व परिवर्तनलगायतका कार्य गरी शुद्धीकरण गरेको देखिएको अख्तियारले जनाएकाे छ।

कोइरीले भ्रष्टाचारबाट आर्जित रकम बैंक र सहकारीको खातामा जम्मा गरी प्लेसमेन्ट गरेको, श्रीमती–साली–साढुभाइमार्फत जग्गामा लगानी गरेको, कम थैली कायम गरी नगद र बैंक चेकबाट मिश्रित रूपमा भुक्तानी गरेको, सहकारी ऋण, बैंक कर्जा, बैनाबट्टा कागज प्रयोग गरी रकमको लेयरिङ गरेको आरोपपत्रमा उल्लेख छ।

भ्रष्टाचारको कसुरबाट प्राप्त गरेको सम्पत्ति हो भन्ने थाहा पाउँदापाउँदै त्यस्तो सम्पत्तिको स्रोत लुकाउने र रूप परिवर्तन गर्नेलगायतका कार्यमा सघाउने कोइरीकी श्रीमती मालाकुमारी महतो, साली रिना कुशवाहा र साढुभाइ कृष्णप्रसाद मेहतालाई समेत अख्तियारले प्रतिवादी बनाएको छ।

अख्तियारले इन्जिनियर कोइरी र उनकी श्रीमती मालाकुमारीविरुद्ध जनही चार करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरेको छ। मुख्य कसुरदारहरूलाई सहयोग गर्ने रिना कुशवाहा र कृष्णप्रसाद मेहताको हकमा मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन मागदाबी गरेको छ।

सुझावित समाचार