इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मझौला व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज२४’ व्यवस्थित वाइफाई सेवा सञ्चालनमा ल्याएको छ । साना तथा मझौला व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष कुराकानी तथा विभिन्न चरणमा गरिएको स्थलगत परीक्षणका आधारमा ‘बिज२४’ तयार पारिएको कम्पनीले जनाएको छ ।
यो वाइफाईले व्यावसायिक परिसरका हरेक कुनामा समान र भरपर्दो वाइफाई पहुँच सुनिश्चित गर्छ । साथै, सम्पूर्ण वाइफाई सञ्जाललाई ‘क्लाउड’ प्रविधिमार्फत व्यवस्थापन गर्न सकिने सुविधा यसमा छ । यसमा ग्राहकका समस्या छिटो समाधान गर्न प्राथमिकतायुक्त सहयोग सेवासमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसको वार्षिक मूल्य १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक ३० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
वल्र्डलिंकका बिक्री प्रबन्धक सतिशकृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मझौला व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर छन् । यसका कारण कार्यालय वा व्यावसायिक परिसरका कतिपय स्थानमा वाइफाईको संकेत नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा सञ्जालमा भइरहेको गतिविधिबारे पर्याप्त जानकारी नहुने समस्या देखिँदै आएको छ । ‘यिनै चुनौतीको समाधानका रूपमा बिज२४ ल्याइएको हो,’ उनले भने, ‘यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यावसायिक स्तरको इन्टरनेट सम्पर्क उपलब्ध गराउँछ ।’
चिकित्सालय, भोजनालय, साना तथा मझौला मार्ट, स्टुडियो र सहकार्य कार्यालयलगायत विभिन्न व्यवसायको आवश्यकतालाई ध्यानमा राखेर सेवा तयार पारिएको राजभण्डारीको भनाइ छ । ‘बिज२४’ मार्फत व्यावसायिक परिसरमा उच्च गतिको वाइफाई उपलब्ध हुने कम्पनीले जनाएको छ । व्यवसाय र कर्मचारीको संख्या तथा आवश्यकतामा वृद्धि हुँदै जाँदा सोहीअनुसार सञ्जाल विस्तार गर्न सकिने व्यवस्था यसमा रहेको छ ।