झन्डै दुईतिहाइ बहुमतको सरकार गठन भएको साढे पाँच महिनामै अर्को मन्त्रीले पनि राजीनामा दिएका छन् । बुधबार मात्रै संसदीय समितिमा ‘ग्यास उद्योगीहरूको पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी हुन् । उनको ठाउँमा बिहीबारै प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी– ४ बाट निर्वाचित दीपककुमार साहलाई मन्त्री नियुक्त गरेका छन् ।
१३ चैतमा गठन भएको शाहको नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाइएका महोत्तरी २ बाट निर्वाचित दीपककुमार साहले १४ दिनमै राजीनामा दिएका थिए । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनर्नियुक्ति दिलाएर स्वार्थअनुकूलको काम गरेको भन्दै प्रधानमन्त्री शाहले उनलाई राजीनामा दिन लगाएका थिए ।
उनको ठाउँमा रामजी यादवलाई मन्त्री बनाइएको थियो । सम्पत्तिमाथि प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले पनि राजीनामा दिएका थिए । तर, छानबिनपछि उनलाई पुनः गृहमन्त्री नियुक्त गरिएको थियो ।
यादवको सचिवालयले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको दाबी गरेको छ । तर, काम गर्न नसकेको तथा ग्यास आपूर्ति सहज बनाउन नसकेपछि उल्टै उद्योगीविरुद्ध खनिएकोलगायतका कारण प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई राजीनामा दिन लगाएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीका तर्फबाट राजनीतिक सल्लाहकार असिम शाहले फोन गरेर यादवलाई राजीनामा दिन भनेका थिए । त्यसको केही बेरपछि यादव राजीनामा–पत्र बोकेर प्रधानमन्त्री कार्यालय पुगेकी थिइन् । उनले प्रधानमन्त्रीका सल्लाहकार शाह र प्रमुख स्वकीय सचिव सुवास शर्मालाई राजीनामा बुझाएर फर्किएकी थिइन् ।