स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ का बाढीपीडितलाई राहत वितरण गरेको छ। संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदीपारिको तटीय क्षेत्रका १४१ बाढी प्रभावितलाई अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो।
बाढीका कारण संस्थाका शाखा कार्यालय वेत्रावती कार्यालय प्रमुखसहित दुई कर्मचारी हालसम्म सम्पर्कविहीन छन्। निरन्तरको खोज तथा उद्धार प्रयासका बाबजुद सहकर्मीहरूको अवस्था अज्ञात रहेको अत्यन्त मर्माहत र पीडादायी घडीमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपतमा परेका नागरिकलाई सहयोग गरेको जनाएको हो।
विदुर नगरपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष इन्द्रप्रसाद अधिकारीको रोहबरमा राहत वितरण कार्य सम्पन्न भएको थियो। क्षतिको अवस्थालाई हेरी प्रभावितहरूलाई ‘अति प्रभावित’ र ‘प्रभावित’ गरी दुई वर्गमा वर्गीकरण गरी राहत सामग्री उपलब्ध गराइएको छ। जसअनुसार अति प्रभावितलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन र साबुन वितरण गरिएको हो। प्रभावितलाई १२.५ केजी चामल, १ केजी दाल, १ केजी चिउरा, आधा लिटर तेल, १ केजी नुन र साबुन प्रदान गरिएको छ।
संस्थाले कुल १०० बोरा चामल, २०० केजी दाल, १०० लिटर तेल, २०० केजी चिउरा, १५० केजी नुन र १०० वटा साबुन वितरण गरेको जानकारी दिएको छ।