जिल्ला अस्पताल धनकुटामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

जिल्ला अस्पताल धनकुटामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ। वि.सं. १९७० सालमा स्थापना भएको जिल्ला अस्पताल धनकुटामा अस्पताल स्थापना भएको ११३ वर्षपछि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको हो । करिब डेढ दशकअघि पनि ब्लड बैंक सञ्चालनको प्रयास भएको थियो । तर, नियमित सञ्चालन हुन सकेन ।

लामो प्रयासपछि मापदण्ड पूरा गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको रक्तसञ्चार सेवा केन्द्रको कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले उद्घाटन गरे । रक्तसञ्चार सेवा केन्द्र जिल्ला अस्पताल धनकुटा र नेपाल रेडक्रस सोसाइटी धनकुटाले संयुक्त रूपमा स्थापना गरेका हुन् ।

रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पराजुलीले रक्तसञ्चार सेवा केन्द्रलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

जिल्ला अस्पताल र रक्तसञ्चार केन्द्रबिच महत्त्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले ऐतिहासिक धनकुटा अस्पतालको सेवा विस्तारका लागि केन्द्र सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएको पनि बताए । आवश्यक मापदण्डअनुसार भवन, जनशक्ति र उपकरणको व्यवस्था भएपछि रक्तसञ्चार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पताल धनकुटामा अहिले ५० शय्यामा सञ्चालनमा रहे पनि राज्यबाट भने १५ शय्याका लागि मात्र आवश्यक सेवा, सुविधा र जनशक्ति उपलब्ध हुँदै आएको छ । प्रारम्भिक चरणमा आवश्यक बजेट जुटेपछि रक्तसञ्चार सेवा सञ्चालन गर्न सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले बताए ।

रक्तसञ्चार सेवा केन्द्र सञ्चालनका लागि २४सै घण्टा परिचालन हुने गरी चारजना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ भने आवश्यक उपकरणसमेत तयारी अवस्थामा राखिएको छ । रक्तसञ्चार केन्द्रका लागि मापदण्डअनुसार चारकोठे भवन निर्माण गरिएको छ । 

सुझावित समाचार