जिल्लाको पश्चिम खत्याड गाउँपालिका– ९ स्थित सेरा भन्ने स्थानमा माथिबाट एक्कासि ढुंगा खसी घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटना भएलगत्तै उनलाई तत्काल इलाका प्रहरी कार्यालय रातापानीबाट खटिएको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पालिकाको ११ नम्बर वडास्थित प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लागिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार बुधबार बिहान १० बजेको समयमा खत्याड गाउँपालिका– ८, रिगागाउँका ६३ वर्षीय बाच गिरी कामविशेष गाउँपालिका केन्द्रतर्फ जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए।
मृतकको साथमा छोरा प्रेमलाल गिरी रहेको र उनले तत्काल सुरक्षाकर्मीलाई खबर गर्दा इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी हवल्दार गणेशप्रसाद चालिसेको कमान्डमा तीनजनाको सुरक्षाकर्मी टोली घटनास्थलमा पुग्दा उनको टाउको र हातमा गम्भीर चोट लागेको उनको भनाइ छ। तत्काल सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानी लाँदा उपचारकै क्रममा दिउँसो करिब १:१० बजेको समयमा उनको मृत्यु भएको थियो ।
जिल्लाबाट तत्कालै प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमान्डमा पाँचजना सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटिएको र टोली पुगेलगत्तै सम्पूर्ण मुचुल्का उठाएर मृतकको पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिप्रका मुगुले जनाएको छ। घटनास्थल जिप्रका मुगुदेखि पैदल करिब एक दिनको दूरीमा रहेको छ ।