नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० करोड रकम हस्तान्तरण गरेको छ ।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त रकमको चेक सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालगायतको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण कार्यक्रममा टेलिकका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीसमेतको उपस्थिति रहेको थियो ।
यसअघि टेलिकमका कर्मचारीले दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ हस्तान्तरण गरिसकेका छन् । टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपश्चात् नै ६ करोड रुपैयाँबराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।