एसिसी प्रिमियर कप : सेमिफाइनलमा ओमानसँग नेपाल सतर्क

पछिल्ला चार खेलमा मिश्रित नतिजा निकाले पनि ओमान नेपालविरुद्ध दमदार प्रदर्शन गर्ने योजनाका साथ उत्रँदै

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सन् २०२७ को एसिया कप क्रिकेट प्रतियोगितामा एसिसी प्रिमियरबाट एक मात्र राष्ट्र छनोट हुने प्रावधान रहेको छ । प्रिमियम कपको विजेता मात्र एसिया कपमा पुग्नेछ । यही लक्ष्य साकार बनाउन मलेसियामा अहिले चार राष्ट्रबिच सेमिफाइनलमा भिडन्त सुरु हुँदै छ । नेपालले बलियो ओमानविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । युएईले पाँचपटक एसिया कप खेलिरहेको हङकङविरुद्ध खेल्नेछ ।

सन् २०२३ को एसिया कपमा स्थान बनाउँदा नेपालले युएईलाई हराएको थियो । नेपाल पहिलोपटक एसिया कपमा छनोट हुँदा भारत र पाकिस्तानजस्तो विश्व च्याम्पियनविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । त्यसवेला रोहित पौडेलको कप्तानीमा नेपाल छनोट भएको थियो । अब भने सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले तीन वर्षअघिको सफतला दोहोर्‍याउने योजनामा अगाडि बढिरहेको छ । 

तर, नेपालको यात्रा त्यति सहज भने छेन । पछिल्लो समयमा ओमानले नेपालविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विशेष गरी, आइसिसी विश्वकप लिग २ मा ओमान नेपालभन्दा अगाडि छ । विश्वकप लिग २ मा नेपाल सातौँ स्थानमा रहँदा ओमान शीर्ष चारभित्र रहेको छ । ओमानको एकदिवसीय मान्यता लगभग सुरक्षित रहेको छ । तर, नेपालको चार वर्षको अस्थायी एकदिवसीय मान्यता धर्मराएको छ । 

मलेसियामा नेपालले समूह ‘ए’ मा लगातार तीन खेल जितेर एक अगाडि नै सेमिफाइनल स्थान बनाएको थियो । नेपालले तीन खेलमा जित निकाल्दा बलिङ हाबी देखिन्थ्यो । ब्याटिङमा भने नेपाल अझै पनि एकनासको प्रदर्शन गर्न सकिरहेको छैन । ओमान निर्णायक खेलमा युएईसँग ४९ रनले पराजित हुँदा पनि रनरेटको आधारमा अन्तिम चारमा पुगेको थियो । उत्कृष्ट रनरेट भएका कारण ओमान सम्हू ‘बी’मा दोस्रो भयो । कतार र कुवेत समूह चरणबाटै बाहिरियो । 

लगातार तेस्रोपटक फाइनलको लक्ष्यमा नेपाल
एसिसी प्रिमियर कपमा नेपालको पहिलो लक्ष्य लगातार तेस्रोपटक फाइनल खेल्नु हो । यसअघि भएका दुई संस्करणमा पनि नेपाल फाइनलमा पुगेको थियो । सन् २०२३ र २०२५ मा रोहितको कप्तानमा नेपाल अन्तिम दुईमा पुगेको थियो । दुई फाइनलमध्ये एकमा जित र हार सामना नेपालले गर्‍यो । संयोग कस्तो रह्यो भने दुवै फाइनलमा नेपालको प्रतिद्वन्द्वी युएई नै थियो । सन् २०२३ मा एसिसी प्रिमियर कप नेपालमा भएको थियो । नेपालले मूलपानी मैदानमा भएको फाइनलमा युएईलाई हराउँदै पहिलोपटक एसिया कप खेल्न छनोट भएको थियो । गत संस्करणमा फाइनलमा युएईसँग पराजित हुँदा नेपाल छनोट भएन । नेपालले लगातार दुई खेल जित्दा दोस्रोपटक एसिया कप खेल्नेछ । यसपटक १० राष्ट्र सहभागी हुँदा च्याम्पियन हुने मात्रै एसिया कप खेल्नेछ । 

ओमानको मिश्रित प्रदर्शन
चालू एसिया कपमा ओमानको प्रदर्शन मिश्रित रहेको छ । ब्याटिङमा राम्रो गर्दा ओमानको बलिङ कमजोर भएको देखिन्छ । समूह ‘बी’को निर्णायक खेलमा ओमानले धारिलो बलिङ गर्दै युएईलाई केवल १९२ रनमा रोकेको थियो । तर, ओमानले ब्याटिङमा दमदार प्रदर्शन गर्न सकेन । सहज लक्ष्य पछ्याएको ओमान १४३ रनमै रोकियो । ओमानले कुवेतविरुद्ध २५२ रन बनाएको थियो । सो खेलमा कुवेत चार विकेटले विजयी भयो । ओमानले कतारबाट पाएको २७२ रनको लक्ष्य पाँच विकेट गुमाउँदै जितेको थियो । ब्याटिङ र बलिङमा एकनास प्रदर्शन गर्न नसकेको ओमानले सम्भवतः नेपालविरुद्ध फरक रणनीतिका साथ प्रदर्शन गर्नेछ । ओमान अक्सर नेपालको महत्वपूर्ण यात्रामा तगारो रूपमा रहेको छ । 

हेड टु हेडमा नेपाल अगाडि
एसिसी प्रिमियर कपमा अहिलेसम्म नेपाल र ओमानबिच १५ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपालले नौ र ओमानले ६ खेलमा जित निकालेको छ । यी दुईबिचको प्रतिस्पर्धामा अहिलेसम्म सर्वाधिक योगफल नेपालले ३१० रन बनाएको छ । प्रत्युत्तरमा ओमानले ३०५ रन बनाएको थियो । ब्याटिङमा ओमानका जेसन मक्सुदले नेपालविरुद्ध ३२१ रन जोडेका छन् । नेपालका आसिफ सेखले ओमानविरुद्ध २९५ रन बनाएका छन् । नेपालका कप्तान सन्दीपले ओमानविरुद्ध ३५२ रन खर्चँदै २५ विकेट लिएका छन् । ओमानका अकिब इलियासले २०७ रनमा नेपालका ११ विकेट हात पारेका  छन् ।

सुझावित समाचार