असाधारण उद्धार अभियानको अनुभव बोकेर स्वदेश फर्कँदै अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञ डिक्स

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपालमा देखेको अहिलेसम्मकै सबैभन्दा कठिन र असाधारण उद्धार अभियानको अनुभव बोकेर अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक अर्नोल्ड डिक्स शुक्रबार स्वदेश फर्कँदै छन् । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत संरचनामा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका उनले अभियानलाई आफूले जीवनमै सामना गरेको सबैभन्दा कठिन र असाधारण भनेका छन् । 

हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने साँघुरा गल्छी, बाढीले बगाएका सडक–पुल र घटनास्थलसम्म भारी उपकरण पुर्याउन नसकिने अवस्थाबिच उद्धारकर्ताहरूले ठुलो जोखिम मोलेर काम गरिरहेको उनले सुनाएका छन् । उनका अनुसार जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति छ । अस्ट्रेलियन नागरिक उनी २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनापछि अन्तर्राष्ट्रिय चर्चामा आएका थिए ।

बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उद्धार अभियानको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्को प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताए । ‘यस्तो किसिमको विपत्को अनुभव संसारमै निकै दुर्लभ छ,’ उनले भने, ‘सम्भवतः हामीले यसअघि यस्तो घटना देखेका थिएनौँ ।’

उनका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ । कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अर्को विकल्पसमेत छैन । तर, भौगोलिक अवस्था यति जटिल छ कि हेलिकोप्टरसमेत सहज अवतरण गर्न सक्ने अवस्था छैन । ‘हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने ठाउँबाट पनि उद्धार गर्नुपर्ने स्थिति छ,’ डिक्सले भने, ‘गल्छीहरू अत्यन्त साँघुरा छन् । उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो ।’

उनले अहिले कसैलाई दोष दिने समय नभएको बताउँदै नेपाली पक्षले उद्धार अभियानमा गरेको समन्वयको प्रशंसा गरे । नेपाल सरकार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा अत्यन्त समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । ‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो वेला पनि होइन,’ उनले भने, ‘यस्तो विपत् आउनुमा नेपालको कुनै दोष देख्दिनँ ।’

सतहमा ठुलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र रहेका व्यक्तिको जीवित रहने सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने उनले बताए । सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उनको जोड छ ।

नेपालका जलविद्युत् आयोजनाको इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गर्दै आएका डिक्सले विपत् आएलगत्तै उपलब्ध डिजाइन, नक्सा र अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारका सम्भावित बाटो पहिचान गर्न थालेको बताए । ‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु,’ उनले भने, ‘विपत् आएपछि सुरुमा उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ । त्यसकै आधारमा उद्धारका सम्भावित बाटो पहिचान गर्ने प्रयास भइरहेको छ ।’

भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनामा उनले महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेका थिए । 

उनले नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको समेत ऐक्यबद्धता रहेको बताए । विपत्का कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको उनको भनाइ छ । ‘मेरो आफ्नै गाउँको स्थानीय चर्चमा नेपालका लागि विशेष प्रार्थना भइरहेको छ,’ उनले भने, ‘अहिले संसारभरिका मानिसहरूको मन तपाईंहरूसँगै दुखिरहेको छ । तपाईंहरूले केही गलत गर्नुभएको छैन भन्ने कुरा संसारले बुझेको छ । यो प्राकृतिक रूपमा घटेको विपत् हो । नेपाली जनतालाई मेरो सन्देश छ–तपाईंहरू एक्लो हुनुहुन्न, हामी तपाईंहरूलाई सहयोग गर्न यहाँ आएका छौँ ।’

डिक्सले बाढीले जलविद्युत् आयोजनाका संरचनामा पुर्याएको क्षति केवल भौतिक पूर्वाधारको क्षति मात्र नभएको बताए । उनका अनुसार जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको विनाशलाई व्यापक दृष्टिले हेर्नुपर्छ । 

‘यो केवल मानवीय त्रासदी होइन, बौद्धिक र राष्ट्रिय क्षतिको विषय पनि हो,’ उनले भने, ‘जलविद्युत् नेपालको राष्ट्रिय पहिचान, सार्वभौमिकता र स्वतन्त्रताका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।’

भविष्यमा यस्ता असाधारण विपत्बाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता उनले औँल्याए । तर, अहिलेको घटनाका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने उनको स्पष्ट धारणा छ ।

‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हुन्छ,’ उनले भने, ‘विश्वको इतिहासमै हामीले यस्तो घटना देखेका थिएनौँ । दुई हप्ताअघिसम्म उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा ती डिजाइन उपयुक्त थिए । अहिले परिस्थिति बदलिएको छ ।’

डिक्सका अनुसार अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक र जटिल छ । उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्याउनु नै सबैभन्दा ठुलो चुनौती बनेको छ । 

बाढीले सडक र पुलमा ठुलो क्षति पुर्याएकाले उपकरण ढुवानी गर्न सकिएको छैन भने हेलिकोप्टरको क्षमताले पनि भारी मेसिन घटनास्थलसम्म पुर्याउन सम्भव छैन । ‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकोप्टरभित्र अटाउँदैनन्,’ उनले भने, ‘त्यसैले अहिले सडक खोल्ने काम भइरहेको छ । सडक पुगेपछि मात्र ठुला मेसिन लैजान सकिन्छ ।’

उनका अनुसार केही भारी उपकरणको तौल करिब पाँच टनसम्म छ । तत्काल उपकरण लैजान नसकिएको अवस्थामा घटनास्थलसम्म पहुँच पुर्याउन केवल पुल वा रोपवेजस्ता वैकल्पिक उपायको समेत खोजी भइरहेको छ ।

उद्धारमा संलग्न सबै व्यक्ति अत्यन्त तनावपूर्ण अवस्थाबिच पनि दिनरात खटिरहेको उनले बताए । आफूले माग गरेको प्राविधिक सहयोग र समन्वयमा नेपाली पक्षबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

‘मैले यसअघि कहिल्यै यस्तो विपत् देखेको थिइनँ,’ उनले भने, ‘सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार ध्वस्त भएको अवस्थामा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरण घटनास्थलसम्म पुर्याउनु नै आफैँमा ठुलो चुनौती बनेको छ ।’

हजारौँ मानिस उद्धारमा खटिन तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्याउन नसकिने अवस्था रहेको उनले बताए । घटनास्थल पुगेपछि बसोबासको समस्या, उपकरण ढुवानीको कठिनाइ र निरन्तर जोखिमका कारण उद्धार अभियान थप जटिल बनेको उनको भनाइ छ ।

‘हजारौँ मानिस काम गर्न तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्याउन सकिँदैन,’ उनले भने, ‘त्यहाँ पुगेपछि बस्ने ठाउँ छैन । उपकरण लैजान पनि समस्या छ । त्यसैले यो सामान्य उद्धार अभियान होइन ।’

कठिन भूगोल, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउँदै डिक्सले सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिए । उनी शुक्रबार स्वदेश फर्कँदै छन् ।
 

सुझावित समाचार