जेन-जी आन्दोलनका सहिदको सम्झनामा स्मृति तथा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल क्षेत्रमा आबद्ध व्यवसायीहरूको संस्था फ्यानक्यानले जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा काठमाडौं र वीरगन्जमा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको हो।
काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई स्मरण गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरियो । सहभागीहरूले दीप र मैनबत्ती प्रज्ज्वलन गर्दै दिवंगतहरूको आत्माको चिरशान्तिको कामना गरे । सहिदको चिर शान्ति र सम्झनामा दीप प्रज्ज्वलन गरिएको फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले बताए । दीप प्रज्ज्वलनमा सहभागी भएर संस्थाका पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए । अध्यक्ष मानन्धरले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको युवाहरूको आन्दोलनपछि देशव्यापी बनेको स्मरण गर्दै सो आन्दोलनमा ज्यान गुमाएकाहरूले देखेको परिवर्तनको सपना पूरा हुनुपर्ने बताए ।
'जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने सबैको आत्माले शान्ति पाओस् । उहाँहरूले देख्नुभएको सपना र परिवर्तनको चाहना पूरा होस् हालको सरकारले जेन-जी सहिद र युवाको सपना पूरा गर्न सकोस्,’ उनले भने ।