मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिंगिटबराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी र त्यसबाट प्रभावित मानवीय तथा विपत् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो।
विपतका वेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ। विशेष गरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने छ।
मलेसियाको राष्ट्रिय विपत् व्यवस्थापन एजेन्सी नाडमा (एनएडिएमए)ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो। कम्पनीका अनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी)को मुख्यालय नाडमा (एनएडिएमए)लाई हस्तान्तरण गरिएका थिए। मलेसियाको मानवीय सहायता तथा विपत् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट (एसएमएआरटि)को टोलीद्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो। यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने कम्पनीले प्रस्ट पारेको छ।
ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ र नाडमा (एनएडिएमए)का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकिमको उपस्थिति थियो। कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता थियो।
नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत प्रोटोन नेपालमा आएको हो। जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा चार करोड रुपैयाँ नगद योगदान गर्दै अन्य जिन्सी सहयोगहरू पनि गरिरहेको छ।