नेपाल वायुसेवा निगमले हालै आएको भोटेकोशी बाढी तथा प्राकृतिक विपतबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ।
निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ।
निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक-पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क छुट दिइनेछ।
विपतको समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यस निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्याउन सहयोग पुग्ने निगमले विश्वास व्यक्त गरेको छ।