गत भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका एकजना कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब १:३० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र सामुदायिक सेवा केन्द्र वनस्पतिको संयुक्त टोलीले फरार कैदी ३९ वर्षीय सन्तबहादुर तितुङलाई पक्राउ गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १३ वनस्पतिनिवासी पदमबहादुर तितुङका छोरा सन्तबहादुरलाई घरनजिकैको सडकमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सन्तबहादुर जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका थिए । उनी डाँका–चोरी मुद्दाका कैदी हुन् । फरार भएपछि उनी लामो समयदेखि प्रहरीको खोजीसूचीमा रहेका थिए ।
प्रहरीले पक्राउ परेका तितुङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । उनलाई पुनः भीमफेदी कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।