जेन–जी आन्दोलनको एक वर्ष पुग्दा सरकारलाई विगतको सम्मान गर्न आग्रह

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

युवा पुस्ताको सडकसंघर्ष र बलिदानबाट तत्कालीन सत्ता ढलेको एक वर्ष पुग्न लाग्दा पुरुषोत्तम शुभप्रभात यादवले आन्दोलनका उपलब्धि र सहमतिहरू कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्।

जेन–जी आन्दोलनमा सहभागी यादवले विगत कहिल्यै नमर्ने र त्यसको अंश वर्तमानमा समेत बाँकी रहने उल्लेख गर्दै आन्दोलनका क्रममा उठाइएका माग अझै पूर्ण रूपमा सम्बोधन नभएको बताएका छन्।

यादवले आफू पनि जेन–जी आन्दोलनको अनुमति लिने र सहभागी हुनेमध्ये एक रहेको उल्लेख गर्दै आज पनि आन्दोलनका क्रममा उठेका प्रश्नले आफ्नो मन भारी बनाएको बताएका छन्। उनका अनुसार युवाहरू सुशासनका लागि सडकमा उत्रिएका थिए, सत्ता वा कसैको अधिकार खोस्न होइन। आन्दोलनका क्रममा साथीहरूले गोली र लाठी खानुपरेको तथा केहीले बन्दुकको नालको निशानामा परी ज्यान गुमाएको स्मरण गर्दै यादवले त्यसको पीडा अझै गहिरो रहेको बताएका छन्।

उनले अन्तरिम सरकारले जेन–जी पुस्तासँग गरेको सहमति अझै कार्यान्वयन नभएको दाबी गर्दै सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। साथै, मृतकका परिवार र घाइतेसँग गरिएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न उनले माग गरेका छन्।

यादवले जेलमा रहेका जेन–जी आन्दोलनकारीलाई तत्काल रिहा गर्न पनि आग्रह गरेका छन्। बालुवाटारबाट बार्दलीसम्म पुगेको विगत र साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको सम्मान गर्नुपर्ने भन्दै उनले सदनभित्र अहंकारको ‘कालो बादल’ गर्जन बन्द गर्न सरकार तथा राजनीतिक नेतृत्वलाई चेतावनी दिएका छन्।

उनले भदौ २३ गतेको घटनाले सत्ता स्थायी नहुने र जनताको आवाज इतिहासमा सधैँ जीवित रहने सन्देश दिएको बताएका छन्। साथै, वीर सहिदहरूजस्तै जेन–जी आन्दोलन पनि सदैव स्मरणीय रहने उल्लेख गर्दै उनले ‘जेन–जी आन्दोलन जिन्दावाद’को नारा दिएका छन्।

सुझावित समाचार