एनसेलले स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहतकार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले यो सेवा उपलब्ध गराउन थालिएको बताएको छ ।
युटेलस्याटको लो अर्थ अर्बिट स्याटेलाइटबाट सञ्चालित उपकरण एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यक स्थानमा जडान गरिरहेको छ । यो प्रविधिले सञ्चार सञ्जाल अवरुद्ध भएका वेलासमेत स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर र राहत वितरण केन्द्र, अस्थायी शिविर, आपत्कालीन कार्य हुने स्थानलगायतका क्षेत्रमा यो प्रविधिले नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ । यसै प्रविधिमार्फत नुवाकोटका तीन महत्वपूर्ण स्थानमा सेवा उपलब्ध गराइएको छ भने बाढी प्रभावित अन्य स्थानमा जडान गर्ने कार्य जारी रहेको कम्पनीले जानकारी दिएको छ ।
यो प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटेलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ । त्यसपछि उक्त उपकरणले वरपरका क्षेत्रमा एकअर्को उपकरणमार्फत वाइफाई सेवा उपलब्ध गराउँछ । साधारण इन्टरनेट र मोबाइल सेवा उपलब्ध नभए पनि यो प्रविधिले इन्टरनेट सेवा दिने बताइएको छ ।
यो प्रविधिले उच्च गति र लो लेटेन्सी कनेक्टिभिटी प्रदान गर्छ, जसको अर्थ मानिसले यसलाई सन्देश आदानप्रदान, इन्टरनेट आधारित कल, महत्वपूर्ण जानकारी पहुँच, ब्राउजिङ र राहत प्रयासको समन्वयका लागि प्रयोग गर्न सक्छन् । एनसेलले यो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ ।
पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी प्रभावित ग्राहकलाई हरेक दिन नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ । कम्पनीले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।