नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वघोषित ५० लाख सहयोग प्रदान गरेको छ । उक्त सहयोग नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको नाइमाले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंक (बिवाइडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजिपालका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो ।
अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपत्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् । उनले विशेषगरी नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गरिन् ।