भोटेकोशीको बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना अभियानमा सहयोग पुर्याउन ओशो तपोवनले प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग जम्मा गराएको छ । बोधिसत्व स्वामी आनन्द अरुणसहित ओशो तपोवनका सन्न्यासीहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण घर, जीविकोपार्जन तथा आफन्त गुमाएका परिवारप्रति सहानुभूति व्यक्त गर्दै तपोवनले विपत्का वेला करुणालाई प्रार्थनामा मात्र सीमित नराखी व्यावहारिक सहयोगमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ ।
तपोवनले राहत तथा पुनर्स्थापनाका लागि गरिएको सहयोगलाई साझा मानवीय जिम्मेवारीको अभिव्यक्ति भन्दै यसबाट विपत् प्रभावितलाई केही राहत पुग्नुका साथै देशको पुनर्निर्माण तथा पुनर्स्थापनाको यात्रामा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।