विवादबिच इन्फान्टिनो फिफा अध्यक्षमा लड्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएपछि सन् २०२७ मा हुने फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनोको उम्मेदवारी दिने घोषणा

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

चौतर्फी विवादबिच जिआनो इन्फान्टिनोले पुनः फिफा अध्यक्षमा लड्ने घोषणा गरेका छन् । फिफाको नयाँ कार्यसमितिको निर्वाचन अर्को वर्षको मार्चमा हुँदै छ । उम्मेदवारीका लागि अन्तिम नाम दर्तामिति १८ नोभेम्बरसम्म छ । इन्फान्टिनोले दुई महिनाअघि फिफा विश्वकपलगायत अन्य महत्वपूर्ण फुटबल प्रतियोगिताको २० प्रतिशत शेयर निजी कम्पनीलाई दिने घोषणा गरेका थिए । यो घोषणासँगै युरोप तथा एसियाले फिफा अध्यक्षको खुलेर विरोध जनाए । युरोप तथा एसिया फुटबल महासंघले इन्फान्टिनोको पछिल्लो घोषणाले फुटबल धराशयी हुने दाबी गरेका थिए ।

इन्फान्टिनोले तत्कालै पदबाट राजीनामा दिनुपर्नेसम्मको दबाब थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएका इन्फान्टिनोले विभिन्न किसिमको विवाद झेल्दै आफू फेरि पनि फिफाको अध्यक्ष पदमा लड्ने बताएका छन् । सन् २०१६ देखि फिफाको नेतृत्व सम्हाल्दै आएका इन्फान्टिनोले विश्वमा फुटबललाई नयाँ उचाइ पुर्याउने लक्ष्यका साथ निर्वाचनमा जाने जनाएका हुन् । पोल्यान्डमा चलिरहेको महिला यू–२० विश्वकप दौरान आयोजित पत्रकार सम्मेलनमा उनले आफू सन् २०३१ सम्म फिफा अध्यक्ष हुने जनाए । 

अन्तर्राष्ट्रिय मिडियाले इन्फान्टिनोसमक्ष भविष्यबारे प्रश्न राखेका थिए । त्यसको प्रत्युत्तरमा उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्– म सन् २०३१ सम्म फिफा अध्यक्षमै रहनेछु ।’ इन्फान्टिनोको भनाइ पुष्टि गर्न जुरिचमा रहेको फिफाको मुख्य कार्यालयबाट सोमबारै विज्ञप्ति जारी गरी निर्वाचनमा वर्तमान अध्यक्ष लड्ने जानकारी दिएएको छ । ‘आगामी फिफा अध्यक्षका लागि हुने निर्वाचनमा इन्फान्टिनोले पुनः उठ्ने घोषणा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घोषणा गत अप्रिलमै भइसकेको थियो । यसमा कुनै परिवर्तन भएको छैन, उनी चुनावी मैदानमा उत्रिनेछन् ।’

१०६ राष्ट्रको समर्थन आवश्यक
फिफा अध्यक्ष बन्न त्यति सहज छैन । यसका लागि उम्मेदवारले फिफामा आबद्धमध्ये लगभग ५० प्रतिशत समर्थन प्राप्त गर्नुपर्छ । फिफामा अहिले २११ फुटबल संघका सदस्य छन् । यसमध्ये कम्तीमा १०६ राष्ट्रले समर्थन गर्नुपर्छ । यो समर्थन प्राप्त गर्न नसकिए उम्मेवार निर्वाचन प्रक्रियामा अगाडि बढ्न सक्दैन । अहिले उत्तर अमेरिकी फुटबल महासंघका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई बलियो प्रतिस्पर्धीका रूपमा लिइएको छ । इन्फान्टिनोको २० प्रतिशत सेयर बिक्री विवाद बढेपछि युरोपले उत्तर अमेरिकाका अनुभवी भिक्टरलाई भावी अध्यक्षका रूपमा अगाडि सारेको छ । यद्यपि, भिक्टरले अहिलेसम्म केही उत्तर दिएका छैनन् । तर, युरोप भने पूरै शक्ति लगाएर उनलाई उठाउने योजनामा लागेको बिबिसीले जनाएको छ । 

 बेल्जियमको समर्थन फिर्ता 
इन्फान्टिनो विवादमा तटस्थ बसेको बेल्जियमले सोमबार अध्यक्षमा दिएको समर्थन फिर्ता लिएको छ । द रोयल बेल्जियम फुटबल एसोसिएसनले आगामी निर्वाचनअघि नै इन्फान्टिनोलाई दिइएको समर्थन फिर्ता गरेको जनाएको छ । ‘फिफामा चर्को भ्रष्टाचार गर्ने व्यक्तिलाई आउँदो दिनमा समर्थन हुनेछैन,’ बेल्जियम फुटबलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीहरूको चाहना फिफा स्वच्छ र पारदर्शी होस् ।’ यसअघि इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र आयरल्यान्डका फुटबल संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

फिफाले युइएफएमाथि आफ्नो नेतृत्वविरुद्ध ‘भ्रामक प्रचार’ गरेको आरोप लगाएको छ । अर्कोतर्फ, युइएफएले यसको विरुद्ध फिफाको आर्थिक योजनाविरुद्ध अमेरिकामा कानुनी प्रक्रिया सुरु गरेको छ ।  स्विट्जरल्यान्डमा आपराधिक उजुरी हाल्ने चेतावनीसमेत युइएफएले दिएको छ ।

सुझावित समाचार