गत वर्ष २३ र २४ भदौमा जेन–जी विद्रोह भयो । २३ भदौमा तत्कालीन सरकारले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाभन्दा बढी युवा सडकमै ढले । नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्र रणमैदान बन्यो । त्यसैको प्रतिकारमा २४ भदौमा जेन–जीहरू आक्रोशित हुँदै तत्कालीन केपी ओली सरकारविरुद्ध बिहानैदेखि सडकमा आन्दोलन चर्काए ।
तर, जेन–जी आन्दोलनका नाममा त्यस दिन सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास, प्रधानमन्त्री कार्यालय, मन्त्री क्वार्टरलगायत ऐतिहासिक र महत्वपूर्ण सरकारी भवन ध्वस्त भए । जेन–जी आन्दोलनका दुई दिनको अवधिमा ७६ जनाको मृत्यु भयो । त्यसमध्ये तीनजना प्रहरीसहित ४५ जनालाई सहिद घोषणा गरियो । जेन–जी आन्दोलनमा ज्यान गुमाएका परिवार अझै पीडामा छन् भने आन्दोलनमै तोडफोड भएका सररकारी संरचना क्षतविक्षत अवस्थामा छन् ।
जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गरी सत्ता हस्तान्तरण ग¥यो । तर, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको ६ महिना पुग्दा जेन–जी आन्दोलनका घाइते र अभियन्ता नै सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । जेन–जी आन्दोलनको उद्देश्य जुन कामको निम्ति थियो, वर्तमान सरकारले त्यसको मर्म बिर्सिएर काम गरिरहेको घाइते र अभियन्ताको आरोप छ । अझै पनि दर्जनौँ घाइते अस्पतालमा उपचाररत अवस्थामा छन् । जेन–जीको रगतमा टेकेर बनेको सरकारले आफूहरूको अपमान गरेको घाइते तथा अभियन्ताको गुनासो छ ।
सरकारमा प्रणालीभन्दा पनि व्यक्तिवाद हाबी देखिन्छ
रक्षा बम, जेन–जी अभियन्ता
जेन–जी आन्दोलन स्मरण गर्दा पहिलो दिन २३ भदौको दमन र दोस्रो दिन २४ भदौको विध्वंसको सम्झना आउँछ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुग्दा पहिलो दिन युवाहरूमा देश बनाउनुपर्छ भन्ने हुटहुटी र चाहनाको वेग धेरै थियो । हरेकका आँखामा देश बनाउनुपर्छ भन्ने भाव देखिन्थ्यो । तर, एक वर्षपछि हेर्दा त्यो आशाले सार्थकता पाएजस्तो देखिएको छैन । जेन–जीका मुद्दा युवाको मात्रै नभई समग्र देशको मुद्दा हो । यो एकै दिनमा पूरा हुने मुद्दा होइन । तर, त्यसअनुसार सरकार उन्मुख छ कि छैन भन्ने हो । केटाकेटी खेलेजस्तो पनि प्रवृत्ति देखिएको छ । वर्तमान सरकारमा प्रणाली बलियो बनाउनभन्दा पनि व्यक्तिवाद हाबी देखिन्छ ।
भ्रष्टाचारविरुद्धको आवाज थियो जेन–जी आन्दोलन
मुकेश अवस्थी, घाइते
सिभिल इन्जिनियर बन्ने आकांक्षा बोकेको विद्यार्थी भएकाले त्यतिवेला म सिंहदरबारमा काम गर्थेँ । मध्यान्तरको समयमा बाहिर निस्किएर आन्दोलनमा सहभागी हुन पुगेँ । देशको राजनीतिक अवस्थाप्रति निकै निराश र आक्रोशित थिएँ । सोही कारण शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको थिएँ । आन्दोलनमा मैले धेरै साथी गुमाएँ । त्यो आन्दोलन देशमा मौलाएको भ्रष्टाचारविरुद्धको आवाज थियो । तर, आजसम्म पनि खासै केही परिवर्तन भएको छैन । वर्तमान सरकारले जेन–जीको मर्मअनुसार काम गरेको छैन ।
सरकारले जेन–जी आन्दोलनको मर्मअनुसार काम गरेन
विकास शाह, जेन–जी अभियन्ता
जेन–जी आन्दोलन भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा थियो । हालका प्रधानमन्त्री, गृहमन्त्रीलगायत त्यही आन्दोलनको जगबाटै आउनुभएको हो । तर, सरकारले जेन–जी आन्दोलनको मर्मअनुसार काम गरेन । जेन–जीका मागहरूलाई बेवास्ता गरेको छ । सरकारले बिजुलीदेखि अन्य आधारभूत आवश्यकतामा कर लगाएको छ । रोजगारी दिन सकेको छैन । यो सरकार बनेपछि विदेश जाने क्रम रोकिएन । झन्झन् निराशा बढिरहेको छ । जहाँ पनि लाइन बस्नुपर्ने अवस्था छ । लाइन होइन, अनलाइन भनेको सरकारले जहाँ पनि लाइन लाग्नुपर्ने अवस्था निम्त्याएको छ ।
जेन–जी आन्दोलनले यस्तो अवस्था चाहेको थिएन
जगत विक, जेन–जी अभियन्ता
गत वर्ष सडकमा आउनुको मुख्य कारण सुशासनमुखी सरकार मागेर नै हो । तर, हामीले अहिलेका माननीयको सुन र सम्पत्ति विवरण हेर्दा त्यो आन्दोलनको मर्मभन्दा फरक देखियो । जेन–जी आन्दोलनकै जगमा बनेको सरकारमा गरिब र सर्वहाराको मन्त्री छैनन् । हालको स्थायी सरकार भए पनि आशा जगाउन सकेको छैन । पछिल्लो समय झन्झन् अराजकता बढेको छ । अहिले गृहमन्त्रीले जेन–जी आन्दोलनको मर्म बिर्सनुभएको छ । कतिपयले सबै बिर्सिएर व्यक्तिगत लाभ लिइरहेका छन् । सरकारले आशा जगाउने काम गर्न सकिरहेको छैन ।
जेन–जीका मागबाट सरकार विमुख बन्न मिल्दैन
प्रेरणा अधिकारी, जेन–जी अभियन्ता
गत वर्ष एउटा साझा विश्वासका साथ एकजुट भएर उभिएका थियौँ । तर, जेन–जी आन्दोलन भएको एक वर्ष बितिसकेको छ भन्ने कुरा अझै पनि पत्याउन गाह्रो लाग्छ । हामीले त्यस्तो भयावह, पीडादायी र कल्पनासमेत गर्न नसकिने दृश्य देख्यौँ, जसका लागि सायद हामीमध्ये कोही पनि तयार थिएनौँ । यो परिवर्तनको माग गर्ने, सुशासन, जवाफदेहिता, पारदर्शिता र न्यायको पक्षमा दृढतापूर्वक उभिएको एउटा पुस्ताको शक्तिशाली अभिव्यक्ति थियो । अवसर र अन्य सम्भावनालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्नु नै सबैभन्दा ठुलो जिम्मेवारी हो । जेन–जीका मागबाट सरकार विमुख बन्न मिल्दैन ।
जेन–जीकै मुद्दामा पनिसरकार स्पष्ट छैन
प्रकाश बोहरा, घाइते
जेन–जी आन्दोलनको खास एजेन्डा पारदर्शिता र भ्रष्टाचारविरुद्ध थियो । यो सरकार आएपछि ६ महिनामा केही सकारात्मक निर्णय भएका छन्, तर निर्णय मात्रै भएर भएन । निर्णय त विगतका सरकारले पनि गरेका थिए । वर्तमान सरकारले अनुभूति गर्न सक्ने गरी काम गर्न सकिरहेका छैन । जेन–जीकै मुद्दामा पनि सरकार स्पष्ट छैन । हामीले खोजेको संरचनात्मक परिवर्तन हो । अझै पनि हाम्रा प्रश्नहरू जायज छन् । बेरोजगारी समस्या उस्तै छ । सरकार बनेको ६ महिनामै सबै कुरा पूरा हुन्छ भन्ने पनि हुँदैन । सरकारले केही सकारात्मक कदमचाहिँ थालेको छ । यसबाहेक सरकारले घाइते र सहिद परिवारको न्यायलाई पनि ख्याल गर्नुपर्छ । जनतामा अझ आशा जगाएर सकारात्मक काम गर्न सक्नुपर्छ ।
जेन–जीको रगतमा टेकेर बनेको सरकारले घाइतेकै अपमान गर्यो
विकास यादव, घाइते
जेन–जी आन्दोलनको एक वर्षमा सत्ता र अनुहार फेरियो, तर अरू केही फेरिएन । कुर्सी र मान्छे उस्तै प्रवृत्तिका छन् । जुन आन्दोलनको जगमा यो सरकार बन्यो, त्यहीँबाट आएको प्रधानमन्त्रीले एकजना सहिदलाई पनि सम्मान र श्रद्धाञ्जली दिनुभएको छैन । उहाँले आफ्नै बलमा बनेको सरकारझैँ ठान्नुभएको छ ।
अन्तरिम सरकारमा हुँदा निःशुल्क उपचार थियो, हालको सरकारले त्यो पनि खोस्यो । मेरो एउटा आँखा नै गुमेको छ । तर, फलोअपमा जाँदा पैसा तिर्नुपरेको छ । रोगजार पनि छैन । अन्तरिम सरकारले पढ्नका लागि दिएको छात्रवृत्ति पनि यो सरकारले खोस्यो । बालेन सरकारले अन्तरिम सरकारले गरेका न्याय र निर्णय क्रमशः खोसिरहेको छ । जसको रगतमा टेकेर सरकार बन्यो, उसकै अपमान गरेको अनुभूति भइरहेको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले जेन–जीको मागअनुसार काम गरेको छैन । देशमा महँगी र असहज अवस्था झन्झन् बढिरहेको छ ।