कानुनमन्त्रीसमक्ष कानुन आयोगको वार्षिक प्रगति प्रतिवेदन पेस

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल कानुन आयोगले आर्थिक वर्ष ०८२/८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेस गरेको छ ।

नेपाल कानुन आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले तयार गरेको प्रतिवेदन कानुनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेस गरिनेछ ।

आयोगले पेस गरेको वार्षिक प्रतिवेदनमा आयोगको परिचय, कानुन सुधारमा आयोगको भूमिका, वार्षिक कार्यक्रम तथा कार्यप्रगति, अवसर तथा चुनौती, सुझाव र सुझावको कार्यान्वयनलगायतका विषय समेटिएका छन् । नेपाल कानुन आयोग सन् २०१० मा स्थापना भएको निकाय हो । आयोगको संस्थागत भूमिकालाई थप स्पष्ट बनाउन नेपाल कानुन आयोग ऐन, २०६३ जारी भएको हो । 

नेपाल कानुन आयोगले विभिन्न विषयमा अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै ‘कानुन दिग्दर्शन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०८२/०८३ सम्म आयोगबाट तयार भएका कानुनमध्ये ३३ वटा मात्रै कार्यान्वयनमा रहेको अवस्था देखिएकाले आगामी दिनमा कार्यान्वयनयोग्य र व्यावहारिक कानुन निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

आयोगले गत आर्थिक वर्षमा जेन-जी आन्दोलनबाट भएको विभिन्न चुनौतीका बाबजुद आफ्नो कार्यसम्पादनलाई निरन्तरता दिएको जनाएको छ ।

पछिल्लो समय उत्पन्न परिस्थितिका कारण आयोगको भौतिक तथा प्रशासनिक पूर्वाधारमा समेत समस्या आएको र पुस महिनासम्म पर्याप्त कार्यकक्षको व्यवस्था हुन नसक्दा सीमित स्थानबाट काम गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । हाल एउटै कोठामा ८ देखि १० जनासम्म कर्मचारीले काम गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ ।

आयोगका लागि आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कूल बजेटको करिब ७३ प्रतिशत मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ । उपलब्ध स्रोत र साधनको सीमितताबिच आयोगले कानुन सुधार तथा कानुन निर्माणसँग सम्बन्धित कामलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिवेदन ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छिन् । नागरिकको आवश्यकता र वर्तमान परिस्थितिअनुकूल हुने तथा व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने कानुन निर्माण गर्न सरकार र सम्बन्धित निकायबिच थप समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
 

सुझावित समाचार