मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरमा आइतबार छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाको थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकामा भएका घटनामा एकजना पुरुषको भिरबाट लडेर र अर्की एकजना महिलाको खोलामा मृत अवस्थामा शव फेला परेको हो।

जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय राजु तामाङ पालिकाकै २ नम्बर वडास्थित मंगलेश्वर सामुदायिक वन क्षेत्रमा भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्। थाहा नगरपालिका–२ र ११ जोड्ने गोरेटो बाटोबाट करिब २० मिटर तल उनको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी भिरबाट लडेर मृत्यु भएको हुन सक्ने देखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिका–७, सुकौरामा ५५ वर्षीया लालीमाया थिङ खोलामा मृत अवस्थामा फेला परेकी छिन्। 

सोमबार दिउँसो करिब ४ बजे घरबाट करिब २०० मिटर पश्चिमतर्फ रहेको सुकौरा खोलामा उनको शव पानीभित्र रहेको सूचना स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक धर्मेशकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्थानीयका अनुसार उनको खोलाले बगाएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरेको जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सुझावित समाचार