सशस्त्र प्रहरी बल नेपालले ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा अपरेसन सञ्चालन गरेको थियो।
अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ५८ बक्समा रहेका १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद भएको हो।
पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्।
उनीहरूको साथबाट लागूऔषध ट्रामाडोलसँगै एउटा स्कुटरसमेत बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्यबारे थप अनुसन्धान भइरहेको छ।
बरामद लागूऔषध तथा नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।