नेपाल हुलाकलाई एसिया प्रशान्त हुलाक संघकाे ‘इनोभेसन अवार्ड’

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक संघ (एसिया प्यासिफिक पोस्टल युनियन–एपिपियू)को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ।

थाइल्यान्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपिपियू कंग्रेसमार्फत हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्। सरकारी कुरियर सेवाका रूपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तारका लागि नेपाल हुलाकले गरेको पहलको कदर गर्दै ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको हो।

शासकीय सुधारका १०० कार्यसूचीमार्फत सरकारले हुलाक सेवालाई परम्परागत हुलाक सेवाबाट सरकारी कुरियर सेवातर्फ रूपान्तरण गर्ने नीति लिएसँगै हुलाकले महत्वपूर्ण सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्याउने गरी सेवा विस्तार गरिरहेको छ। राहदानी, सवारीचालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी रिपोर्टलगायत कागजात नागरिकको घरमै पुर्याउने कामलाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको विभागका महानिर्देशक पंगेनीले जानकारी बताइन्। 

१४औँ एपीपीयू कंग्रेसमा महानिर्देशक पंगेनीको नेतृत्वमा नेपालबाट तीनसदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो। नेपाली प्रतिनिधिमण्डलले विभिन्न सत्रहरूमा नेपालको तर्फबाट सहभागी भई आगामी दिनको हुलाक प्रणालीको अवस्था यसको आधुनिकीकरण, हालसम्म भएका काम र सरकारका प्राथमिकताबारे जानकारी गराएको थियो। 

१४औँ एपिपियू कंग्रेसमा एसिया प्रशान्त क्षेत्रका ३२ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए। कंग्रेसमा क्षेत्रीय हुलाक सेवा आधुनिकीकरण, डिजिटल रूपान्तरण, सीमापार व्यापार, हुलाक ढुवानी तथा सदस्य राष्ट्रबिच सहकार्यका विषयमा छलफल भएको थियो।

सुझावित समाचार