बकैयामा ३५ वर्षीय युवक मृत फेला, परिवारका सदस्यसहित पाँचजना नियन्त्रणमा

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिका– १२, धारापानीमा एक युवकको हत्याको आशंकामा परिवारका सदस्यसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुर प्रहरीका अनुसार भदौ १९ गते शुक्रबार दिउँसो स्थानीय राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेका थिए।

खत्री घरमै मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमान्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको थियो।

खत्रीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनकी श्रीमतीसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। यसअघि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा एसओसिओसहितको टोली र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक खत्रीकी श्रीमती बकैया–१२ की ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा सोही स्थानका करिब ४५ वर्षीय अमर खत्री र राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार मृतकका परिवारका सदस्यबाटै हत्या भएको आशंका गरिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। मृतक खत्रीको पोस्टमार्टमपछि सोमबार दिउँसो दिदी सजिना खत्रीलाई शव बुझाइएको उनले जानकारी दिए।

प्रवक्ता काफ्लेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने बताए।

सुझावित समाचार