सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो मौलिक सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदै छन् । विशेषगरी चितवन, मकवानपुर, धादिङ र गोरखाका चेपाङ बस्तीमा श्रद्धा र उल्लासका साथ यो पर्व मनाइँदै छ ।
नयाँ अन्नबाली भित्र्याउनुअघि पितृ र भूमिलाई पूजा गरी धन्यवाद अर्पण गर्ने परम्परासँग जोडिएको यो पर्व चेपाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक उत्सवका रूपमा चिनिन्छ ।
चेपाङ समुदायमा पितृलाई अर्पण नगरी र भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल वा कन्दमूल खान नहुने धार्मिक विश्वास छ । यही विश्वासअनुसार न्वागीका दिन घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला, निबुवालगायत नयाँ उत्पादन भएका अन्नबाली र फलफूल पितृ तथा भूमिलाई चढाएर मात्रै खाने चलन रहिआएको छ ।
चेपाङ समुदायका अगुवा तथा झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो बजाउँदै रातभर पूजा, फलाक्ने तथा भूमि र पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन् । कतिपय स्थानमा परम्पराअनुसार कुखुराको बलि चढाउने चलन पनि कायम छ । पूजा सम्पन्न भएपछि आफन्त, छरछिमेकी र नातागोतालाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने, टीका लगाउने तथा एक–अर्कालाई आशीर्वाद दिने परम्परा रहेको छ ।
चेपाङ भाषामा न्वागीलाई ‘छोनाम’ भनिन्छ भने कतिपय स्थानमा यसलाई ‘पान्देई घ्यासा’ नामले पनि चिनिन्छ। भदौ २२ गते सामूहिक रूपमा पर्व मनाइए पनि विभिन्न कुल र स्थानअनुसार भदौ महिना सुरु भएदेखि नै झाँक्रीद्वारा पूजा र फलाक्ने कार्य सुरु हुने गरेको समुदायका अगुवाहरू बताउँछन् ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने र परिवारमा अशुभ हुने जनविश्वास रहेकाले यो पर्व धार्मिक आस्थासँग गहिरो रूपमा जोडिएको छ । ‘न्वागी भनेको नयाँ अन्न खाने दिन मात्रै होइन, पितृ र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो,’ उनले भने ।
यस दिनलाई चेपाङ समुदायले ‘वारना’ का रूपमा पनि मनाउने गर्छन् । वारनाको दिन कुनै पनि चेपाङ काममा ननिस्कने, सम्पूर्ण परिवार घरमै बसेर पूजा, संस्कार र सामूहिक भेटघाटमा सहभागी हुने परम्परा रहेको छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा पनि ढ्याङ्ग्रो बजाएर विशेष पूजा गरिन्छ ।
राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ समुदायका मानिस बसोबास गर्छन् । मुख्य रूपमा चितवन, मकवानपुर, धादिङ र गोरखाका पहाडी क्षेत्रमा उनीहरूको बसोबास रहेको छ। पछिल्लो समय बसाइँसराइ र रोजगारीका लागि चेपाङ समुदायका मानिसहरू देशका विभिन्न जिल्लामा पुगेका छन् ।
चेपाङ समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले ०७९ सालदेखि न्वागी पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्दै आएको छ । यस वर्ष पनि प्रदेश सरकारले यी तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
हरेक वर्ष भदौ २२ गते चितवन, मकवानपुर, धादिङ र गोरखामध्ये पालैपालो एक जिल्लामा न्वागी महोत्सव आयोजना गर्ने परम्पराले यो पर्वलाई सांस्कृतिक उत्सवका रूपमा थप स्थापित गर्दै आएको छ । संस्कृति संरक्षणकर्मीहरूका अनुसार न्वागी केवल धार्मिक अनुष्ठान मात्र नभई चेपाङ समुदायको इतिहास, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामाजिक एकताको प्रतीकका रूपमा पनि महत्त्वपूर्ण रहेको छ।