मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न गरेको छ।
तीनवटै संस्थाबिच प्रस्तावित प्राप्ति प्रक्रियाका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्यांकन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), सेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।
तीनवटै संस्थाले प्रस्तावित प्राप्ति प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानुनी एवं नियामकीय व्यवस्थाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रक्रियामा सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ।