राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका गुनासा र समस्यासमेत सुनेका छन्।

राष्ट्रपति पौडेलले नुवाकोटमा भोटेकोशीमा आएको बाढीबाट परेको प्रभाव तथा त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका थिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले रसुवामा आएको बाढीका कारण नुवाकोटमा भएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका थिए। त्यहाँ प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अप्रत्याशित बाढीबाट भएको धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका काममा सरकार, सहयोगदाता तथा सम्बन्धित सरोकारवालाले थप तदारुकता देखाउनुपर्ने बताएका थिए।

राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रअन्तर्गत नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए । 

सुझावित समाचार