१० भदौमा भोटेकोशीमा आएको बाढीपछि केरुङमा अड्किएका नेपाली कन्टेनर मुस्ताङको कोरोलाबाट नेपाल ल्याएर लोमान्थाङ हुँदै काठमाडौं ल्याउन थालिएको छ। सामान ढुवानीका लागि रसुवागढी नाकाबाट करिब २५ किलोमिटर टाढा केरुङ पुगेका १७९ नेपाली कन्टेनरलाई कोरोलाबाट नेपाल ल्याउने क्रम सुरु भएको हो।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार २१ र २२ भदौमा ६८ कन्टेनर कोरोलाबाट नेपाल प्रवेश गरेका छन्। २१ भदौमा ३१ र २२ भदौको बिहान ३७ कन्टेनर नेपाल–चीन सीमाक्षेत्र लिचीसम्म ल्याइएको छ। अझै १११ कन्टेनर केरुङमा बाँकी छन्।
बाढी आउनुअघि नै ३७ जना चालक केरुङमा अड्किएका थिए। उनीहरूबाट पालैपालो सबै कन्टेनर लोमान्थाङ ल्याउने योजना रहेको सापकोटाले बताए।
केरुङबाट साका र डोङ्बा हुँदै करिब चार सय किलोमिटर दूरी पार गरेर लिची पुग्नुपर्ने भएकाले चालकहरूले बढी पारिश्रमिक माग गरेका छन्। लामो दूरी, बसाइ तथा खानाको खर्च र लिचीबाट केरुङसम्म चिनियाँ गाडीमा फर्किनुपर्ने भएकाले चालकले महँगो पारिश्रमिक माग गरेको सापकोटाको भनाइ छ।
‘बस्ने–खाने र लिचीबाट केरुङसम्म चिनियाँ गाडीमा फर्किँदा धेरै भाडा लाग्ने भएकाले चालकहरूले महँगो पारिश्रमिक माग गरेका छन्,’ सापकोटाले भने, ‘विपतका कारण व्यवसायीहरू थप आर्थिक भारमा परेका छन्।’
भोटेकोशीको बाढीले पाँच सयभन्दा बढी कन्टेनर बगाएर क्षति पुर्याएको बताउँदै सापकोटाले बाँकी रहेका करिब दुई सय कन्टेनरबाट दसैँ–तिहार तथा जाडोयामका लागि आवश्यक सामान ल्याउन कठिन हुने बताए।
कोरोलाबाट करिब ४५० किलोमिटर दूरी पार गरेर काठमाडौंसम्म सामान ल्याउनुपर्ने भएकाले यसपटक ढुवानी खर्च बढ्ने र सामानको मूल्यसमेत २० प्रतिशतसम्म वृद्धि हुन सक्ने व्यापारीहरूले बताएका छन्।
बाढीपछि सबैभन्दा छोटो दूरीको तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द रहेकाले चीनबाट नेपालमा सामान आयात गर्ने व्यवसायी थप समस्यामा परेका छन्।