राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता भएको छ।
रास्वपाका अनुसार विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपतकाे यस घडीमा नेपालका जनता र सरकारप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका छन्।
वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराए। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा तथा संरक्षणप्रति समेत सरकार समान रूपमा प्रतिबद्ध रहेको बताए।
लामिछानेले विपतका वेला अमेरिकी सरकारले गरेको सहयोगप्रति विदेशमन्त्री रुबियोलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए।
जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध गराउन संयुक्त राज्य अमेरिका तयार रहेको बताएका रास्वपाले जनाएको छ।