काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न, ग्यास, पेट्रोलियमलगायतका सामग्री ढुवानीको आपूर्ति शृंखलामा असर परेको छ । जसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ । तर, वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण उपत्यकाको मागअनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइँटेलले जानकारी दिए । अहिले सरकारले खाद्यान्न, इन्धनलगायतका ठुला मालवाहक सवारीसाधनका लागि त्रिभुवन राजपथको सडक छुट्याइदिएको छ ।
उपत्यकामा तीन महिनाको मागलाई धान्न सक्ने चामल, तेल, गेडागुडीलगायतका खाद्यान्न मौज्दात रहेको विभागले जनाएको छ । बाढी र कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि विभागले संकलन गरेको तथ्यांकअनुसार चामल कम्तीमा एक महिनाको मागलाई धान्न पुग्ने मौज्दात छ । त्यस्तै, खाने तेलसमेत कम्तीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको उनले जानकारी दिए । दाल र गेडागुडीको मौज्दात भने तीन महिनाभन्दा बढी समयलाई धान्न सक्ने अवस्थामा रहेको उनले बताए । ‘अहिले उपत्यकासँगको सबै बाटो अवरुद्ध भएको होइन, वैकल्पिक मार्गबाट नियमित रूपले खाद्यान्नको आयात भइरहेको छ,’ उनले भने, ‘त्यसैले, खाद्यान्न आपूर्तिका लागि उपभोक्ता अतालिनुपर्ने स्थिति छैन ।’
विभागका महानिर्देशक मोतीराम सापकोटाले पनि उद्योगी र आयातकर्तासँग नियमित रूपले तथ्यांक लिने काम भइरहेको बताए । ‘प्राप्त तथ्यांकमा खाद्यान्न मौज्दातको अवस्था सन्तोषजनक नै छ,’ उनले भने । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए । ‘थोक बजारमा मागेजति सबै खाद्यान्न उपलब्ध छ । त्यसैले कुनै समस्या छैन,’ उनले भने ।
उनले उपत्यकामा तीन महिनाको माग धान्न सक्ने खाद्यान्न सधैँ मौज्दातमा रहने गरेको पनि जानकारी दिए । ‘थोक तथा खुद्रा पसलमा नियमित रूपले तीन महिनाको माग धान्न सक्ने खाद्यान्न मौज्दात रहेको हुन्छ । अहिले पनि त्यही अवस्था हो,’ उनले भने, ‘उपभोक्ता त्रसित हुनुपर्ने अवस्था छैन ।’ उनले खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज भइरहेका कारण उपभोक्ताले खाद्यान्नको पनि चिन्ता गर्नु स्वाभाविक रहेको बताए । ‘खाद्यान्नको आपूर्तिमा अहिलेसम्म कुनै असर परेको छैन,’ उनले भने । सरकारले पनि काठमाडौंमा खाद्यान्न आपूर्तिका लागि त्रिभुवन राजपथ र कान्ति लोकमार्ग प्रयोगका लागि सहजीकरण गर्दै आएको छ ।
चिनीको आपूर्ति कम हुँदा मूल्य अकासियो
स्वदेशी उद्योगमा चिनीको मौज्दात सकिँदै गएको र भारतले समेत निर्यातमा रोक लगाएका कारण बजारमा चिनीको भाउ बढेको छ । दुई महिनाअघि ९५ रुपैयाँ प्रतिकिलो रहेको चिनी एक सय एक, एक सय पाँच र एक सय १० हुँदै अहिले पाउनै छाडेको नेपालटारस्थित खुद्रा विक्रेता चन्द्र थापाले जानकारी दिए । ‘अहिले जति मूल्य परे पनि किनेर पसलमा राख्छु भन्दा चिनी नपाइने स्थिति छ,’ उनले भने । बजारमा चिनीको भाउ एक सय ३० रुपैयाँ नाघेको छ ।
वाणिज्य विभागका निर्देशक लुइँटेलले आयात गर्दा नै भन्सार विन्दुमा लागत एक सय पाँच रुपैयाँ पुगेको जानकारी दिए । स्वदेशी उद्योगीले भने ८५ रुपैयाँ प्रतिकिलोका दरले समेत गोदामबाट बिक्री गरेको बिल भेटिएको बताए । ‘चिनीको मागअनुसार आपूर्ति हुन नसक्दा बजारभाउ बढेको छ,’ उनले भने, ‘तर, अहिलेको बजारभाउ हस्तक्षेप गर्न सरकारी संस्थान परिचालन गर्ने निर्णय भइसकेको छ ।’
स्वदेशी उद्योगमा करिब २५ हजार टन चिनी मौज्दात रहेको तथ्यांक आएकाले १५ हजार टन साल्ट टे«डिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्न लागेको उनले बताए । ‘दुवै कम्पनीले स्वदेशी उद्योगको चिनी किनेर सस्तो मूल्यमा दिन थालेपछि भाउ नियन्त्रण हुन्छ,’ उनले भने, ‘यतिले मात्र नपुगेर थप २५ हजार टन चिनी एक प्रतिशत भन्सार मूल्यमा खरिद गर्न दुवै संस्थानलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले मूल्य नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा छ ।’
तरकारी आपूर्ति नियमित
उपत्यकामा दैनिक औसत सात सय टनका दरले तरकारी भित्रिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । ‘अहिले त तरकारी आपूर्तिको अवस्था एकदम रामं्रो छ । जुन दरमा तरकारी आइरहेको छ, त्यही दरमा खपत नै भएको छैन,’ उनले भने, ‘थोक विक्रेताका अनुसार होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसहरूले ठुलो परिमाणमा उठाउने तरकारीको मात्रा घटेको छ ।’ उनले भारत र पश्चिम तराईबाट आउने तरकारी त्रिभुवन राजपथबाट आइरहेको र छिमेकी जिल्लाबाट नियमित मार्गबाटै तरकारी भित्रिरहेको जानकारी दिए । विगतको तुलनामा अहिले मूल्यमा पनि ठुलो चाप नपरेको उनले बताए ।
पाइपलाइनबाट पेट्रोलियम आपूर्ति नियमित
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभरको कुल खपतको ७० प्रतिशत इन्धन आयात भइरहेको आयल निगमले जनाएको छ । अमलेखगन्जस्थित डिपोबाट विराटनगर, काठमाडौं, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने गरेको छ ।
अमलेखगन्ज डिपो प्रमुख अशोक साहले पाइपलाइनमार्फत निर्बाध रूपमा पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको जानकारी दिए । काठमाडौंमा पनि त्रिभुवन राजपथ हुँदै दैनिक रूपमा ट्यांकरमा तेल आउने गरेको छ भने तराईका उद्योगमा ग्यास भरेर ट्रकमार्फत सिलिन्डर आउने गरेका छन् । आयल निगमका अनुसार कम्तीमा पेट्रोल ११ दिन, डिजेल १३ दिन, मट्टीतेल एक महिना र हवाई इन्धन १८ दिनको माग धान्ने गरी मौज्दात रहेको छ । ‘पाइपलाइनबाट पनि नियमित रूपमा आयात भइरहेका कारण कुनै समस्या छैन,’ निगम प्रवक्ता मनोज ठाकुरले भने ।
मूल्य नियन्त्रण गर्न दैनिक १५ टोली परिचालन
बाढीका कारण आपूर्तिमा भएको अवरोध र नजिकिँदै गरेको चाडपर्वका कारण खाद्य वस्तुको मूल्य अकासिनेतर्फ सचेत हुँदै दैनिक १५ टोली उपत्यकामा अनुगमनका लागि खटाइरहेको विभागले जनाएको छ । विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका निर्देशक अनिल किराँतीले उद्योग मन्त्रालयबाट कर्मचारी मगाएर अनुगमन टोली बढाएको बताए । ‘मूल्य नियन्त्रणका लागि सघन रूपमा अनुगमन गर्न खोजेका छौँ,’ उनले भने, ‘उपत्यकाका विभिन्न क्षेत्र नै तोकेर खाद्यान्न, लत्ताकपडा, माछा–मासु, तरकारी, ग्यासलगायतको अनुगमनलाई तीव्रता दिएका छौँ ।’
खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य भन्छन्– थोक बजारमा मागेजति सबै खाद्यान्न उपलब्ध छ । त्यसैले कुनै समस्या छैन । थोक तथा खुद्रा पसलमा नियमित रूपले तीन महिनाको माग धान्न सक्ने खाद्यान्न मौज्दात रहेको हुन्छ । अहिले पनि त्यही अवस्था हो । उपभोक्ता त्रसित हुनुपर्ने अवस्था छैन । खाद्यान्नको आपूर्तिमा अहिलेसम्म कुनै असर परेको छैन ।