यो वर्षको ‘पिपी प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार’ र ‘पिपी प्रसाईं विद्यालय प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रमबिच पूर्वराष्ट्रपति डा. रामवरण यादवले पुरस्कार वितरण गरेका हुन्।
देशका विभिन्न प्रदेशबाट छनोट भएका शिक्षकलाई ‘पिपी प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ र एक सामुदायिक विद्यालयलाई ‘पिपी प्रसाईं विद्यालय प्रोत्साहन पुरस्कार–२०८३’ प्रदान गरिएको हो।
पुरस्कारअन्तर्गत प्रत्येक उत्कृष्ट शिक्षकलाई ५० हजार नगद तथा उत्कृष्ट विद्यालयलाई १० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री उपलब्ध गराइँदै आइएको छ। यस वर्ष बैतडीको पञ्चेश्वर–१, पालाडीस्थित नागार्जुन आधारभूत विद्यालय उत्कृष्ट भएको छ।
यसैगरी, ‘पिपी प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ प्राप्त गर्ने शिक्षकहरूमा कोशीको इलामस्थित जनता माविका खगेन्द्र निरौला, बागमतीको काभ्रेपलाञ्चोकस्थित जनक माविका युवराज भट्टराई, गण्डकीको नवलपरासीस्थित जनक मोडल माविका मनोज विक्रम बिष्ट रहेका छन्। साथै, लुम्बिनीको बर्दियास्थित युवक माविका नरेशकुमार चौधरी, कर्णालीको सुर्खेतस्थित त्रिपुरेश्वर माविका लोकेन्द्र चन्द र सुदूरपश्चिमको कञ्चनपुरस्थित सिद्धनाथ अमर माविकी अञ्जुकुमारी उपाध्याय पनि सम्मानित भएका छन्।
मधेश प्रदेशबाट यस वर्ष उल्लेख्य संख्यामा आवेदन नपरेकाले उक्त प्रदेशको शिक्षक छनोट प्रक्रिया स्थगित गरिएको पिपी प्रसाईं फाउन्डेसनले जनाएको छ।
सो अवसरमा थामसेर्कु ट्रेकिङका संस्थापक तथा अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई ‘पिपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मान गरिएको छ। शेर्पा यती एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा माउन्टेन लजेज अफ नेपालका प्रबन्ध निर्देशकसमेत हुन्।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकलाई उचित सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको फाउन्डेसनले जनाएको छ।