एनसेलको नि:शुल्क सेवा अवधि पुनः सात दिन थप

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने घोषणा गरेको छ । सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो नि:शुल्क सेवा २० भदौेदेखि थप सात दिन अर्थात् २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा नि:शुल्क उपलब्ध हुनेछन् । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि नि:शुल्क सेवाको अवधि सात दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो ।

‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा नि:शुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेका हौँ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले भने, ‘अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपत्को समयमा हाम्रो यो नि:शुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठुलो मद्दत पुग्ने विश्वास लिएका छौँ ।’ 

विपत्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महŒवपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । नि:शुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ ।

See More On

सुझावित समाचार