भोटेकोशी बाढी प्रभावितका लागि उद्योगीले चौथो खेपमा ७५ थान सगर ब्रान्डका ग्यास सिलिन्डर बाढी प्रभावित रसुवा पठाएका छन् । शनिबार दिउँसो बबरमहलस्थित आयल निगमको कार्यालयबाट उक्त ग्यास जिल्ला प्रशासन कार्यालय, रसुवाले प्राप्त गर्ने गरी पठाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जानकारी दिए ।
संघले बाढी प्रभावित क्षेत्रमा साढे १२ सय थान ग्यास राहतबापत उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसअघि दुई सय ३२ थान नेपाल ग्यासको सिलिन्डर पठाइसकिएको अध्यक्ष चन्दले जानकारी दिए ।
‘बाढी प्रभावित क्षेत्रमा तत्कालै ठुलो मात्रामा ग्यास पठाउने योजनामा थियौंँ, तर पृथ्वी राजमार्ग अवरुद्ध भई आपूर्तिमा असर परेकाले बिस्तारै पठाउन थालिएको हो,’ उनले भने । यसअघि, ग्यास उद्योगीको अर्को संगठन ‘एलपी ग्यास उद्योग संघ नेपाल’ले पहिलो चरणमा एक सय र दोस्रो चरणमा ५० थान ग्यास बाढी प्रभावित क्षेत्रमा पठाइसकेको छ । हालसम्म प्रभावित क्षेत्रमा कुल चार सय ७५ थान ग्यास सिलिन्डर वितरण भइसकेको छ ।