भोटेकोशीको बाढीमा हराएका महोत्तरीका बेपत्ता परिवारहरूले आफन्तको कि सास देऊ कि लास भन्दै सरकारसँग माग गरेका छन् । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– १० निवासी रुचे दासका ३८ वर्षीय छोरा सुशीललाल दास र जलेश्वर– ७ महादेवपट्टीका अब्दुल मजिद अन्सारीका २२ वर्षीय छोरा हसान रेजा अन्सारीसहित १० परिवार अझै आफन्तको पर्खाइमा छन् ।
उनीहरूले ११ दिनसम्म पनि आफन्तको कुनै खबर पाउन सकेका छैनन् । बेपत्ता सुशीलका दाजु रोशनलाल दासले परिवारले सम्भावित सबै ठाउँमा खोजिसकेको र डिएनएसमेत दिएको बताउँदै भाइ हराएको रसुवाको टिमुरे बजारमा अझै उद्धार सुरु भएको आफूले नसुनेको बताए । उनी भाइ फर्कने हो कि भन्ने अझै आस रहेकाले किरियाकर्म गर्न हतार नगरेको बताउँछन् ।
सुशीलकी छोरी मुस्कानले बुबाले ‘म बुधबार नौ बजे टिमुरे बजारबाट हिँड्छु,’ भनेर फोन गरेको केही समयपछि उनको सबै सम्पर्क टुटेको बताइन् । काठमाडौंमा लोक सेवाको तयारी गरिरहेकी मुस्कान बुबा अझै फर्कने आस गर्छिन् । उनकी श्रीमती ममता देवीसमेत श्रीमान् फर्कनेमा विश्वस्त छिन् ।
तर, आफ्नो परिवारका सदस्यको विषयमा राज्य पक्षबाट कुनै जानकारी नआएको उनीहरूको दुःखेसो छ । हसानकी हजुरआमा मैतुन खातुन घरमा कोही भेट्न आउँदा आफ्नो नातिको खबर सोध्छिन् । हसान गाडी मर्मत मेकानिक रहेका र काठमाडौंबाट गाडीकै लागि रसुवा पुगेपछि सम्पर्कविहीन भएका थिए ।