भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका १७८ जना अझै सम्पर्कविहीन छन् । मधेश प्रदेश प्रहरी कार्यालयले पछिल्लोपटक सार्वजनिक गरेको विवरणअनुसार प्रदेशका आठवटै जिल्लाबाट २२० जना सम्पर्कविहीन भएकोमा ३८ जना सम्पर्कमा आएका छन् । दुईजनाको मृत्यु भएको छ । सप्तरी र बाराका एक–एकजनाको शव फेला परेको प्रहरीको अभिलेखमा उल्लेख छ ।
सप्तरीका सञ्जय साह सम्पर्कमा आएका छन् भने महोत्तरीको गौशाला नगरपालिका– ५ का कुशल खपांगी मगरको शव फेला परेको छ । यी दुवै घटना प्रहरीको तथ्यांकमा समावेश हुन सकेका थिएनन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार पछिल्लो विवरणसमेत समेट्दा मधेशका आठ जिल्लाबाट १७८ जना सम्पर्कविहीन, ३९ जना सम्पर्कमा आएका र तीनजनाको मृत्यु भएको देखिन्छ । प्रहरीको तथ्यांकअनुसार सप्तरी सबैभन्दा बढी प्रभावित जिल्ला हो । सप्तरीबाट ५२ जना सम्पर्कविहीन रहेकामा तीनजना सम्पर्कमा आएका छन् । एकजनाको मृत्यु भएको छ ।
पर्साबाट ४६ जना बेपत्ता भएकामा तीनजना सम्पर्कमा आएका छन् । बाराबाट ३० मध्ये चारजना सम्पर्कमा आएका छन् । एकजनाको मृत्यु भएको छ । रौतहटबाट २० मध्ये ६ जना सम्पर्कमा आएका छन् । सर्लाहीका २७ मध्ये ६ जना सम्पर्कमा आएका छन् । महोत्तरीमा १७ मध्ये सातजना सम्पर्कमा आएका छन् । धनुषामा १४ मध्ये सातजना र सिराहाका १४ मध्ये दुईजना सम्पर्कमा आएका छन् ।